
स्वदेशमा भविष्य नभएको भन्दै दैनिक धेरै युवायुवतीहरु रोजगारीका लागि विदेश पलायन भइरहेका छन् । राज्यले स्वरोजगार मुलक कार्यक्रम ल्याउन नसक्दा घरपरिवार पाल्न भन्दै जनशक्ति विदेश पलायन भइरहेका छन् । जसले गाउँघर बालबच्चा र वृद्धवृद्धाहरुको मात्र होकी जस्तो देखिन थालेको छ । धेरै जनशक्ति विदेश पलायन भइरहदा सल्यानमा केही जनशक्तिले यस्तो उदाहरण प्रस्तुत गर्दै आइरहेका छन् । जसले लगन, परिश्रम र अठोट भए आफ्नै माटोमा पनि सुन फलाउन सकिन्छ भन्ने देखाएका छन् ।
शारदा नगरपालिका ९ नयाँबस्तीका जिवराज बोहराले ओखर र टिमुर खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । एक सय बोट ओखर र तीन सय बोट टिमुर लगाएका बोहराले वार्षिक सबै खर्च कटाएर पाँच लाख बढी आम्दानी गर्दै आइरहेका छन् । उनले भने,‘एक सय ५० बोट ओखर मध्ये अहिले १५ ÷२० बोटले दाना दिन थालिसकेका छन् । जसबाट एक लाख देखि एक लाख ५० हजारसम्म आम्दानी हुन्छ भने एक सिजनमा पाँच देखि ६ क्विन्टल टिमुर बिक्रीबाट चार÷पाँच लाख रुपैयाँ आम्दानी भइहाल्छ ।
एक ओखरबाट बोटबाट चार हजार देखि पाँच हजार दानासम्म उत्पादन भइरहेको र रुख ठूलो भइरहेकाले वार्षिक उत्पादन पनि बढ्ने बोहराको भनाइ छ । कृषिमा भविष्य नदेख्दा र छोटो समयमा धेरै प्रतिफल लिन खोज्दा धेरै युवाहरु विदेश पलायन भइरहेको उनले बताए । कृषिमा लगानी गर्न सके र आफ्नै माटोमा पौरख गर्न सके विदेशमा हुने आम्दानी जति स्वदेशमा पनि गर्न सकिने बोहरा बताउँछन् ।
यस्तै शारदा नगरपालिका २ जोगिदेउ खोलामा वि.स २०७७ सालदेखि व्यवसायिक ड्रागन खेती गर्दै आएका छन् ५२ वर्षीय घमण्ड बहादुर डाँगीले । लगाएको एक वर्षदेखि नै उत्पादन दिने भएकाले छोटो समयमै आम्दानी लिन सकिने उनको भनाइ छ । झन्डै दुई रोपनीमा व्यवसायिक खेती गर्दै आएका डाँगीले एक सिजनमा मात्रै दुई लाख न्दा बढी आम्दानी गर्दै आएका छन् । उनले भने, ‘सुरुका एक दुई वर्ष अनुभवको अभावका कारण उत्पादन लिन सकिएन पछि विस्तारै सिक्दै गइयो अहिले अन्नबालीको भन्दा झन्डै पाँच गुणा बढी आम्दानी यो ड्रागन खेतीले दिइरहेको छ ।
जिल्लामा पहिलो खेती भएकाले बजारको माग अनुसार आफूले उत्पादन गर्न नसकीरहेको उनकोे अनुभव छ।रातो जातको ड्रागन भएकाले मूल्य पनि राम्रो पाउने उनले बताए। ‘राप्ती राजमार्ग सडक छेउमा नै भएकाले धेरै जसो बारीबाट नै बिक्री भइहाल्छ बारीबाट बिक्री नभएको बजार लगेर बिक्री गर्ने गरेको छु’,उनले भने । प्रतिकिलो तीन सय ५० रुपैयाँका दरले बारीबाट नै बिक्री वितरण हुँदै आइरहेको डाँगीले बताए ।