मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ७ शनिबार
  • Saturday, 23 August, 2025
शान्ति तामाङ काठमाडाैं
२o८२ भदौ ७ शनिबार ११:o१:oo
Read Time : > 7 मिनेट
फिचर प्रिन्ट संस्करण

अघि बढ्दै लैंगिक तथा यौनिक अल्पसंख्यक 

Read Time : > 7 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ७ शनिबार ११:o१:oo

लैंगिक तथा यौनिक अल्पसंख्यक भन्दै छन्– हामी अघि बढिरहेका छौँ । तपाईंहरू पनि आफ्नो अधिकारका लागि घरपरिवार, समाजसँग नडराई अगाडि आउनोस् । एक दिन हाम्रो अधिकार अवश्य सुनिश्चित हुन्छ ।

समाज विविधताले भरिएको छ । प्रकृति निर्मित र मानवनिर्मित यो विविधताले समाज रंगीन बनेको छ । तर, वेलावेला समाजका पुराना गलत मान्यताले विविधतालाई अस्वीकार गर्दा सुन्दरतामा अँध्यारो छाउँछ । समाजको सुन्दर पक्षमध्ये यौनिक तथा लैंगिक अल्पसंख्यक पनि एक हो । प्रकृतिले निर्माण गरिदिएको यो सुन्दर विविधता समाजमा कष्टकर जिन्दगी झेलिरहेका छन् । उनीहरू आफ्नो अस्तित्वको, सामाजिक स्वीकार्यताको लडाइँ लडिरहेका छन् । संघर्षका बाबजुद उनीहरू विविध क्षेत्रमा अघि बढ्दै छन् । राजनीतिदेखि सिनेक्षेत्रसम्म, लेखनदेखि क्रियटिभ आर्टसम्म उनीहरूको शक्तिशाली उपस्थिति बढ्दै छ । उनीहरू भन्दै छन्, ‘हामी अघि बढिरहेका छौँ । तपाईंहरू पनि आफ्नो अधिकारका लागि घरपरिवार, समाजसँग नडराई अगाडि आउनुहोस् । एक दिन हाम्रो अधिकार अवश्य सुनिश्चित हुन्छ । तल केही उदाहरण हामीले प्रस्तुत गरेका छौँ ।

संसारका एक सय एक प्रभावशाली महिलाको सूचीमा
लैंगिक तथा यौनिक अल्पसंख्यक अभियन्ता तथा अधिवक्ता रुक्सना कपाली बिबिसीको एक सय एक प्रभावशाली महिलाको सूचीमा परिसकेकी छिन् । पारलैंगिक महिला’ (ट्रान्सजेन्डर वुमन) कपाली सन् २०२३ को बिबिसीले सार्वजनिक गरेको सूचीमा परेकी हुन् । जलवायु अभियन्ता, संस्कृति तथा शिक्षा, मनोरञ्जन र खेलकुद, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य र प्रविधि विधामार्फत प्रभावशाली १०० महिला छानिएको थियो । रुक्सानाले एसएलसीपछि आफूलाई महिलाको रूपमा चिनाउन थालेकी थिइन् । २६ वर्षीया उनी पाटनमा जन्मिएकी हुन् ।

सिनेक्षेत्रमा बलिउडसम्मको उडान
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी मोडल अञ्जली लामा बलिउडसम्म पुगेकी छिन् । ट्रान्सजेन्डर लामा ‘टेल इट लाइक अ वुमन’ फिल्ममा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँगै देखिएकी थिइन् । मोडल लामा मुम्बईको फेसन जगत् हुँदै न्युयोर्क फेसन विकमा समेत देखिएकी थिइन् । उनी सन् २०१६ मा भएको ‘ल्याक्मे फेसन सो’मा टप–२० सम्म पुगेकी थिइन् । नेपालबाट यहाँसम्म पुग्ने उनी पहिलो लैंगिक तथा यौनिक अल्पसंख्यक हुन् । उनलाई जिक्युले सन् २०१८ ‘सोसल चेन्जर’ भनेर स्टाइल अवार्ड दिएको थियो । लामाले सन् २०१९ मा ग्रासिया मिलेनियल अवार्डमा ‘मोडल अफ द इयर’, सन् २०१९ मै ‘भोग मोडल अफ द इयर अवार्ड’समेत पाएकी छिन् ।

नुवाकोटमा जन्मिएकी उनले काठमाडौं आएपछि रेस्टुरेन्टमा भाडा माझ्ने काम गरेकी थिइन् । रेस्टुरेन्टमा आउने एकजना ग्राहकले ‘यो भाइ त मोडलजस्तै रहेछ’ भन्ने वाक्यबाट मात्रै उनले ‘मोडलिङ’ शब्द सुनेकी थिइन् । जुन उनले एक अन्तर्वार्तामा बताएकी छिन् । सन् २००५ मा निल हिरा समाजमा पुगेपछि उनले त्यहीँ अर्कोपटक यो शब्द सुनिन् । त्यसपछि सन् २००७ मा सोसाइटीले नै ट्रान्स जेन्डरको सौन्दर्य प्रतियोगिता आयोजना गर्‍यो । प्रतियोगितामा उनी पनि सहभागी भएकी थिइन् । प्रतियोगितामा उनले मिस चार्मिङको टाइटल पाइन् । त्यही वेला उनी पहिलोपटक स्टेज उक्लेकी थिइन् । त्यहीँबाट उनको मोडलिङ करियर सुरु भयो ।

राजनीतिमा स्थापित हुने प्रयास
कीर्तिपुरका दीपक महर्जन (हनी) जन्मिँदा पुरुष भएर जन्मिए पनि उनमा स्वभाव भने महिलाको थियो । महिलाको जस्तै हाउभाउ, व्यवहार र पहिरन मन पथ्र्यो । आफ्नो लैंगिक पहिचानबारे बिस्तारै खुल्न थालेपछि उनको जबर्जस्ती विवाह भयो । विवाहपछि पारिवारिक सहमतिमै उनी महिलाको रूपमा हिँड्न थालिन् । ‘समर्पण सभ्य समाज नेपाल’ नामक संस्था स्थापना गरेर लैंगिक तथा यौनिक अल्पसंख्यकको क्षेत्रमा काम थालिन् । कीर्तिपुर क्षेत्रमा उनी लैंगिक तथा यौनिक अल्पसंख्यक अभियन्ता भनेर चिनिइन् । गत वर्षदेखि भने उनी अभियन्ता मात्र होइन, राजनीतिज्ञको रूपमा समेत चिनिन थालेकी छिन् । जनता समाजवादी नेपालले गत मंसिरमा भएको उपनिर्वाचनमा उनलाई मेयर पदको उम्मेदवार बनाएपछि उनी राजनीतिज्ञको रूपमा चिनिन थालेकी हुन् ।

‘उपनिर्वाचनमा उम्मेदवारी दिएका थियौँ । हाम्रो उम्मेदवारीभन्दा पहिला जसपा नेपालले हामीलाई पत्यायो भन्नुपर्छ । हामीलाई पत्याएर जसपामा लैजानुभयो । टिकट दिनुभयो । यो हाम्रा लागि ठुलो जित थियो,’ उनले भनिन् । जसपा नेपालजस्तो मधेश केन्द्रित पार्टीले आफूहरूलाई दिएको अवसरले थप हौसला बढेको उनले बताइन् । ‘हाम्रो समुदायले यसरी खुलेर भोट माग्नै पाएको थिएन । जसपाले हामीलाई मौका दियो । चुनावमा हारजित त भइहाल्छ । हामी हारे पनि हार मान्दैनौँ,’ उनले भनिन् । उपनिर्वाचनमा उनले १६३ मत ल्याएकी थिइन् । गत उपनिर्वाचनमा उनीहरूका लागि मत माग्न धेरैजना लैंगिक तथा यौनिक अल्पसंख्यक कीर्तिपुरसम्म पुुगेका थिए ।

जन्मँदा पुरुष भएर जन्मिए पनि राजीव महर्जन (मौनी) ले हनीको जस्तो व्यवहार खप्न परेन । सुरुवाती दिनमा घरपरिवार, आफन्त र समाजलाई आफ्नाबारे बताउन गाह्रो भए पनि अहिले त्यो अवस्था पार गरेकी छिन् । लिंग परिवर्तन नै गरेकी उनले अहिले पुरुषसँगै विवाह गरेकी छिन् । उनी पनि हनीसँगै ‘समर्पण सभ्य समाज नेपाल’मा आबद्ध भएर लैंगिक तथा यौनिक अल्पसंख्यकको क्षेत्रमा काम गरिरहेकी थिइन्, यही वेला उनलाई पनि जसपाले उम्मेदवार बनायो, वडा ४ का अध्यक्षका रूपमा । त्यसपछि अभियन्तासँगै राजनीतिज्ञका रूपमा पनि काम गरिरहेकी छिन् । ‘जसपाले हामीलाई दिएको अवसरको सम्मान गर्दै उम्मेदवारी दियौँ । तर, हामीले हाम्रो पक्षमा नतिजा ल्याउन सकेनौँ,’ उनले भनिन् । उनले करिब चार सय मत ल्याएकी थिइन् ।

चुनावपछि पनि उनीहरू राजनीतिकर्मीको रूपमा काम गरिरहेका छन् । कीर्तिपुर नगरपालिकासँगै विभिन्न संघसंस्थासँग समन्वय गरेर काम गरिरहेका उनीहरू अवसर पाए ०८४ को चुनावमा समेत पछि नहट्ने बताउँछन् । ‘जुन पार्टी आए पनि आफ्नो कार्यकर्तालाई नै प्राथमिकता दिइरहेका छन् । नगरपालिकाका विभिन्न ठाउँमा हाम्रो समुदायका मान्छेलाई पनि समावेश गर्नुपर्‍यो भन्ने आवाज उठाइरहेका छौँ,’ हनीले भनिन् । उनीहरू अप्ठ्याराका बाबजुद लैंगिक तथा यौनिक अल्पसंख्यकको पक्षमा आवाज उठाउँदै अगाडि बढिरहेका छन् ।

२०७८ को जनगणनाअनुसार अन्य लेख्ने यो समुदायको संख्या दुई हजार ९२८ छ । तर, यही क्षेत्रमा काम गर्ने संघसंस्था भने नौदेखि दश लाखको संख्यामा आफूहरू रहेको बताउँदै आएका छन् । निल हिरा समाजका पूर्वअध्यक्ष पिंकी गुरुङ आफूहरूको संख्या त्यति मात्र नभएको बताउँछिन् । उनका अनुसार नेपालमा यौनिक अल्पसंख्यकको संख्या कति छ भनेर कुनै पनि निकायसँग यकिन तथ्यांक छैन ।

यो समुदायले करिब दुई दशकअघि नै राजनीतिमा प्रवेश गरेको थियो । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका तर्फबाट सुनीलबाबु पन्त २०६४ को संविधानसभा सदस्य भएका थिए । उनी एसियाकै पहिलो समलिंगी सभासद् हुन् । उनी नेकपा संयुक्तका तर्फबाट समानुपातिक सभासद् बनेका थिए । पहिलो संविधानसभा सदस्य बनेर उनले संविधान निर्माणदेखि महत्वपूर्ण नीति–निर्माणमा सहभागी भई काम गरेका थिए । उनले सन् २००१ मा रुसबाट आफ्नो अध्ययन सकेर नेपाल फर्किएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक हकहितका लागि भन्दै ‘नील हिरा समाज’को स्थापना गरेका थिए ।

यो संस्थाले अझै पनि लैंगिक तथा यौनिक अल्पसंख्यकको क्षेत्रमा काम गर्दै आइरहेको छ । ०६४ पछि नीति बनाउने तहमा यो समुदायको सहभागिता शून्य बन्यो । नेपालका महत्वपूर्ण पार्टीले उनीहरूलाई प्राथमिकतामा राखेनन् । ०७० को संविधानसभा निर्वाचनमा पनि यो समुदायबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ शून्य सहभागिता भयो । तर, ०७४ को संसदीय निर्वाचनमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका भूमिका श्रेष्ठ र पिंकी गुरुङले उम्मेदवारी दिएका थिए । भूमिका श्रेष्ठको नाम नागरिकतामा कैलाश श्रेष्ठ भएकाले उनले आफ्नै पहिचानमा उम्मेदवारी दिन भने सकिनन् । ०७४ कै स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको ११ नम्बर वडाको सदस्य पदका लागि संघीय समाजवादी तथा नयाँ शक्तिका पार्टीका तर्फबाट दीपेश भण्डारीले पनि उम्मेदवारी दिएका थिए ।

०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ (सरिन)ले उम्मेदवारी दिएकी थिइन् । गोमाले निकटतम प्रतिद्वन्द्वीका रूपमा नेकपा एमाले र जनता समाजवादी पार्टीबाट समीकरण गरेका उम्मेदवार अशोककुमार राईलाई पाएकी थिइन् । तर, उनी थोरै मतान्तरले मात्र पछि परिन् । हेभिवेट राईसँग उनी ४५३ मतले पछि परेर विजयी हुन सकिनन् । राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत पाएकी थिइन् । १४ वर्षसम्म वैदेशिक रोजगारका लागि इजरायल बसेर फर्किएकी उनले श्रीमान्सँग सम्बन्धविच्छेद गरी महिलासँगै सम्बन्धमा रहेको सार्वजनिक गरेकी थिइन् ।

०७९ मै भएको निर्वाचनमा नेपाल जनता पार्टीले मधेश प्रदेश सभाका लागि सर्लाही क्षेत्र नम्बर २ (ख) बाट तेस्रोलिंगी महेन्द्र शाही तेली (राधा मौसी) लाई उम्मेदवार बनाएको थियो । सातवटा प्रदेशका प्रदेश सभाका लागि चुनावी प्रतिस्पर्धामा तीन हजार चार सय ३६ उम्मेदवार थिए । जसमध्ये उनी मात्रै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी उम्मेदवार थिइन् । उनले ०७४ कै स्थानीय चुनावमा मलंगवा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । एकीकृत समाजवादीले तेस्रोलिंगी बद्री पुन (डिलु बुदुजा) र दाङकी पारलैंगिक शिल्पा चौधरीलाई समानुपातिकतर्फ उम्मेदवार बनाएको थियो । उनीहरू राजनीतिमा होमिए पनि पन्तपछि कसैले पनि नीति बनाउने तहसम्म पुगेर काम गर्ने अवसर पाएका छैनन् । ‘आफ्नो अधिकारका लागि घरपरिवार, समाजसँग नडराई अगाडि आउनुपर्छ । तपाईंहरू पनि आउनुहोस् । एक दिन हाम्रो अधिकार अवश्य सुनिश्चित हुन्छ,’ हनीले भनिन् ।

लेखनमा पनि सक्रिय
मोडल भूमिका श्रेष्ठको आत्मकथा भूमिका (तेस्रोलिंगीको आत्मकथा) सार्वजनिक भएसँगै उनको जीवनले पुस्तक आकार पाएको छ । तेस्रोलिंगीको रूपमा चिनिएकी उनी कैलाश श्रेष्ठबाट भूमिका बनेकी हुन् । ब्लु डाइमन्ड सोसाइटीमा आएपछि उनी तेस्रोलिंगीका रूपमा खुलेकी हुन् । उनको आत्मकथामा स्त्रीको भेषमा गुफा बसेको अनुभवदेखि थुप्रै आरोह–अवरोहका कुरा समेटिएका छन् । आत्मकथामा उनका बारेमा ३५ विषय समावेश छन् । २०४४ सालमा नैकापमा जन्मिएकी उनलाई नकारात्मक दृष्टिले हेर्न थालिएपछि स्कुल जान छाडेकी थिइन् । उनले ‘हाइ वे’, ‘कान्छी’लगायत नेपाली चलचित्रमा अभिनयसमेत गरेकी छिन् । ०७८ फागुनमा अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आइडब्ल्युओसी) २०२२’ उनले प्राप्त गरेकी थिइन् । यो पुरस्कार कोषले ठूलो व्यक्तिगत जोखिम र त्यागसहित शान्ति, न्याय, मानव अधिकार, लैंगिक समता तथा समानता र सबैखाले विविधतासहितका महिला तथा किशोरीको सशक्तीकरणको वकालत गर्ने असाधारण साहस, शक्ति र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान हुँदै आएको छ । सन् २०२२ को आइडब्ल्युओसी पुरस्कारबाट विश्वभरका १२ जना महिलालाई सम्मान गरिएको थियो ।

व्यवसायमा अघि बढ्दै 
लैंगिक तथा यौनिक अल्पसंख्यक ५७ वर्षीया कान्छीमाया तामाङ व्यवसायी हुन् । उमेर बढेसँगै शारीरिक श्रमको काम गर्न सजिलो नहुने र काम पनि पाउन कठिन हुने भएकाले कान्छीले जीविकोपार्जनका लागि धागोबाट बुनेको सामग्री बेची जीवन चलाउन थालेकी छिन् । उनको कला र मिहिनेतलाई सम्मान र समर्थन गर्ने बढ्दै छन् । उनले बनाएका सामग्री लैंगिक तथा यौनिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने संस्था मितिनी नेपालबाट पनि लिन सकिन्छ ।

क्रियटिभ आर्टमा पहिचान बनाउँदै 
समलिंगी पुरुष अर्मोन्त सन् २०१६ देखि गाईजात्राको दिन लैंगिक तथा यौनिक अल्पसंख्यकले लगाउने पोसाक डिजाइन गर्दै आएका छन् । दुई दशकदेखि गाईजात्राको दिन देशभरका लैंगिक तथा यौनिक अल्पसंख्यक सहभागी भएर पहिचान र अधिकारका लागि भन्दै गौरव यात्रा हुँदै आएको छ । उनले त्यस दिन प्रयोग हुने कपडा उनीहरूलाई नै किन्न लगाएर ज्याला मात्र लिएर डिजाइन गर्छन् । यसबाहेक उनी क्रियटिभ आर्टिस्टका रूपमा काम गर्दै आएका छन् । उनी माटो, प्लास्टिकका विभिन्न सामग्रीसमेत बनाउँछन् । काठमाडौं हाँडीगाउँमा जन्मिएका उनी १५–१६ वर्षको उमेरदेखि आफ्नो पहिचानबारे खुल्न थालेका हुन् । समलिंगी पुरुषका रूपमा चिनाउन उनलाई परिवारले नै सहयोग गरेको थियो । तर, जागिरका सिलसिलामा पुगेका ठाउँमा भने पहिचान खुलाएपछि उनीमाथि दुव्र्यहार हुने गरेको छ । ‘म केटाको रूपमा जाँदा त केही फरक पर्दैन । तर, मेरो आफ्नो पहिचान खुलाउनेबित्तिकै जागिरबाट निकाल्नेजस्ता काम भएका छन् । अहिले पनि हामीलाई सिप भए पनि पहिचान बताएपछि काम पाउन गाह्रो छ,’ अर्मोन्तले भने ।

यी केही उदाहरण हुन्, यस्ता धेरैजना संघर्षका कारण आफ्नो क्षेत्रमा स्थापित भएका छन् । गत जेठमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकै एकजना ट्रान्सजेन्डर पुरुषको शल्यक्रिया भयो । त्रिवि शिक्षण अस्पतालले जेठ १२ गते उनको अनुहारको शल्यक्रिया गर्‍यो । स्तनको शल्यक्रिया गर्‍यो । त्यसपछि पुरुषको लिंगको तन्तु चाहिने मात्रामा उपयोग गरेर महिलाको जनेन्द्रिय पुनर्निर्माण गरियो । तीन चरणको शल्यक्रियापछि उनी महिला बनेर अस्पतालबाट निस्किएकी थिइन् । लिंग परिवर्तन गराउन विदेश गएर लाखौँ खर्च गर्नुपर्ने अवस्था अहिले छैन ।

०८० मंसिर १३ मा नेपालमा पहिलोपटक लमजुङमा समलिंगी जोडीको विवाह दर्ता भएको थियो । दोर्दी गाउँपालिका–२ वडा कार्यालयले रामबहादुर गुरुङ (माया) र सुरेन्द्र पाण्डेबिचको विवाह दर्ता गरेर प्रमाणपत्र उपलब्ध गराएको हो । माया र सुरेन्द्रले प्रेम सम्बन्धलाई २७ असोज ०७४ मा विवाहमा परिणत गरेका थिए । तर, विवाह दर्ता नभएपछि उनीहरू सर्वोच्च पुगेका थिए । सर्वोच्चको आदेशबमोजिम उनीहरूको विवाह दर्ता भएको थियो । ‘सर्वाेच्च अदालतको अन्तरिम आदेशबमोजिम अस्थायी अभिलेख रहने गरी विवाह दर्ता जारी गरिएको छ,’ प्रमाणपत्रमा भनिएको छ । विवाह दर्ताका विषयमा सर्वोच्च अदालतमा पुगेको रिटमा अन्तरिम आदेश मात्रै आएकाले अन्तिम फैसला नआएसम्मका लागि अस्थायी अभिलेख रहने गरी विवाह दर्ता भएको हो । दुई वर्षअघि नै अन्तरिम आदेश आए पनि अन्तिम फैसला हुन सकेको छैन । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुनीलकुमार पोखरेलबिच राय बाझिएपछि यो मुद्दा अहिले पूर्ण बेन्चमा पुगेको छ । लैंगिक तथा यौनिक अल्पसंख्यकले यो फैसलाबाट न्याय पाउने बताउँदै आएका छन् ।

नेपालको संविधान धारा ४२ को सामाजिक न्यायको हकमा यौनिक तथा लैंगिक अल्पसंख्यकको हक सुरक्षित गरेको छ । संविधानमै व्यवस्था भएका कुरा पनि लागू हुन नसकेको कानुनविद् सुजन पन्त बताउँछन् । उनी भन्छन्, ‘लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि नेपाल एसियामै उदार देश हो । तर, कानुनी पाटोमा केही उदार देखिए पनि व्यावहारिक पाटोमा काम नहुँदा अप्ठ्यारा छन् ।’