मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ७ शनिबार
  • Saturday, 23 August, 2025
नयाँ पत्रिका काठमाडौ‌
२o८२ भदौ ७ शनिबार o९:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीद्वारा कुशे औँसीको शुभकामना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌
नयाँ पत्रिका
२o८२ भदौ ७ शनिबार o९:३१:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र कृष्ण औँसीअर्थात् कुशे औँसीको सवैलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैका जीवित पिताहरूलाई नमन, दिवङ्गत पितृहरूलाई श्रद्धा व्यक्त गर्दै बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आज बिहानै बुबासँग आशीर्वाद लिएको समेत जानकारी गराएका छन् । “बिहानै बुबासँग आशीर्वाद लिएँ । बुबा ९६ वर्षको हुनुभयो । कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनुपर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ”, प्रधानमन्त्रीले उल्लेख गरेका छन्, “बुबासँग एकछिन उतिबेलाका केही प्रसङ्गमा कुरा भए । उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना छ ।”

प्रधानमन्त्री ओलीले आफू चार वर्षको हुँदा आमा बित्नुभएको उल्लेख गर्दै आमाको अनुहारको धमिलो सम्झना मात्र आफूसँग बाँकी रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतिकात्मकको दिन रहेको बताएका छन् । “बुबाआमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैँ आदर, सम्मान गर्नुपर्छ । टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औँसीअर्थात् कुशे औँसीमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।