
दोस्रो एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)का लागि मधेश युनाइटेडले नेदरल्यान्ड्सकी प्रतिभाशाली आउट साइड हिटर कस्र्टेन वेसेल्सलाई अनुबन्ध गरेको छ । मधेशले तेस्रो विदेशी खेलाडीका रूपमा वेसेल्सलाई घोषणा गरेको हो । यसअघि मधेशमा नेदरल्यान्ड्सकै रोमी भिनस्ट्रा र डानिक आर्डेमाले सम्झौता गरेका थिए । लिगका लागि काठमाडौंले यसै साता तीनजना विदेशी खेलाडीको कोटा पूरा गरेको थियो । यसैगरी, ललितपुर क्विन्सले थाइल्यान्डका दुईजना खेलाडी भित्र्याइसकेको छ ।
एक सय ८६ सेन्टिमिटर अग्ली वेसेल्सको स्पाइक पहुँच तीन सय सेमि र ब्लक पहुँच दुई सय ९३ सेमि रहेको छ । २६ वर्षीया वेसेल्स आफ्नो बहुमुखी क्षमता, दमदार आक्रमण र स्थिर बचाउका कारण विश्वभर चर्चित छिन् । उनले भलिबल करिअरको सुरु घरेलु क्लब ‘एलएसभी लपर्सुम’बाट गरेकी थिइन् । त्यसपछि उनी ‘आरटिसी ग्रोनिङन’ हुँदै प्रतिष्ठित प्रशिक्षण केन्द्र ‘ट्यालेन्ट टिम’ पापेन्डलसम्म पुगिन् ।
त्यहीँबाट उनको खेलकौशलको राष्ट्रिय स्तरसम्म पुग्यो । केही वर्षपछि नेदरल्यान्ड्सको सबैभन्दा सफल क्लबमध्ये एक ‘स्लिड्रेच्ट स्पोर्टमा’ वेसेल्स अनुबन्धित भइन् । स्लिड्रेच्ट स्पोर्टमा रहँदा उनले राष्ट्रिय उपाधि जितिन् । यसैगरी, उनले युरोपियन विभिन्न भलिबल प्रतियोगितामा समेत आफ्नो दमदार प्रदर्शन देखाइन् । अहिले उनी सुडोसा–डेस्टो क्लबमा आबद्ध छिन् ।
युरोपियन र विश्व च्याम्पियनसिपको अनुभव
वेसेल्सले नेदरल्यान्ड्सको यू–१९ र यू–२० राष्ट्रिय टोलीका लागि युरोपियन तथा विश्व च्याम्पियनसिपमा प्रतिनिधित्व गरेकी छिन् । युरोपकै एक राम्रा खेलाडी भित्र्याउन पाउँदा मधेशले आफ्नो टोली बलियो भएको जनाएको छ । ‘वेसेल्सको फूर्तिलो स्पाइक र ब्लक क्षमताले खेल मैदानमा प्रभावशाली उपस्थिति देखाउने टोलीको विश्वास रहेको छ,’ मधेशले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रियस्तरको अनुभवले टोलीका लागि उनले आक्रामक र रणनीतिमूलक खेल खेल्नेछिन् ।’ वेसेल्सले पनि लिगको हिस्सा हुन पाउँदा र विशेष गरी मधेशबाट खेल्न पाउँदा निकै उत्साहित भएको बताएकी छिन् ।
नेपालमा उनको सहभागिताले आफ्नो करिअरलाई नयाँ आयाम दिने र यो प्रतियोगिताले नेपाली महिला भलिबलको स्तर उकास्न र युवा खेलाडीलाई प्रेरित गर्ने अवसर मिल्ने उनी बताउँछिन् । मधेशका तीनजना विदेशी खेलाडी नेदरल्यान्ड्सका हुन् । मधेशको मार्की खेलाडी निरुता ठगुन्ना हुन् । दोस्रो संस्करणको इडब्लुभी २० देखि २८ भदौसम्म पोखरामा हुनेछ ।