
पशु सेवा कार्यालय सिन्धुली र मन्थली नगरपालिकाले संयुक्त रूपमा लम्पी स्किनविरुद्धको खोप अभियान सञ्चालन गरेका छन्।
भदौ १ गतेदेखि मन्थली नगरपालिकाको १४ वटै वडामा दुई साताभित्र अभियान सम्पन्न गर्ने गरी प्रत्येक वडामा पशु प्राविधिक आवश्यक औषधिसहित खटाइएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले जानकारी दिए।
लम्पी स्किन रोगका कारण पशुहरूमा घाउ खटिरा आउने, खटिरा बढ्दै गएर पाक्ने, उच्च ज्वरो आउने, पशु झोक्राउने, पशुले घाँस तथा दाना खान नसक्नेजस्ता लक्षणहरू देखापर्ने गर्छ। लम्पी स्किन रोगबाट यसअघि जिल्लामा धेरै गाईभैँसी मरेका थिए।
किसानहरूले हजारौं मूल्य तिरेर खरिद गरेका गाईभैँसी एकाएक लम्पी स्किन रोगबाट मर्न थालेपछि रामेछापका किसान चिन्तित बनेका छन्। सो रोगबाट गाई र भैँसी मर्दा धेरै किसानको गोठ खाली हुन पुगेको मन्थली नगरपालिका– ४ सालुका जयबहादुर खत्रीले बताए।