मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 16 August, 2025
Invalid date format २२:२८:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:२८:oo

स्याउको राजधानीका रूपमा प्रख्यात मुस्ताङमा स्याउ टिप्ने (पोस्ट हार्भेस्ट) कार्यतालिका सार्वजनिक गरिएको छ । 

जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङको अध्यक्षतामा आज यहाँ बसेको स्याउ टिप्ने जिल्लास्तरीय समन्वय बैठकले उक्त कार्यतालिका सार्वजनिक गरेको हो ।

जिल्लामा उत्पादन हुने स्याउको गुलियोपना कायम गर्न र गुणस्तर कायम गरी उपभोक्ताबिच पृथक किसिमको ‘ब्रान्ड’ र पहिचान स्थापित गर्ने उद्देश्यले स्याउ टिप्ने कार्यतालिका तय गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

मुस्ताङका पाँचवटै गाउँपालिकाका अध्यक्ष तथा जिल्लास्थित कृषि ज्ञान केन्द्र, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याउ जोन (मुस्ताङ), भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय कृषक, समूह, सहकारी र स्याउ फार्मका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायलगायत संयुक्त जिल्लास्तरीय समन्वयात्मक बैठकले तीन चरणमा स्याउ टिप्ने निर्णयसहित नयाँ ढाँचामा कार्यतालिका सार्वजनिक गरेको समितिकी प्रमुख गुरुङले जानकारी दिइन्।

उनका अनुसार आसन्न हरितालिका तिज पर्वलाई लक्षित गर्दै उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) गाला जातको स्याउ आगामी भदौ ५ गतेदेखि टिपेर बजारीकरण गर्ने बैठकले निर्णय गरेको छ । हाइब्रिड किङरट जातको स्याउ आगामी भदौ १५ गतेदेखि तथा अन्य हाइब्रिड र स्थानीय जातका स्याउ भदौ २५ गतेदेखि टिप्ने निर्णय गरिएको प्रमुख गुरुङले जानकारी दिइन् । 

विगतका वर्षहरूमा यहाँ उत्पादित स्याउ कृषकको बगैँचाबाट आफूखुसी बजार पुर्‍याउने परिपाटीले स्याउको गुणस्तरमा ह्रास आएकाले कार्यतालिका बनाएर कार्यान्वयन गर्न लागिएको उनले बताइन् । यसबाट कृषकलाई बजारीकरणमा सहज हुनुका साथै मूल्य समायोजनमा समस्या नहुने उनको भनाइ छ ।

‘मुस्ताङको मुख्य पहिचान भनेकै स्याउ खेतीसँग सम्बन्धित रहेकाले यहाँको स्याउको गुणस्तर कायम गरी सहर, बजारका उपभोक्तासमक्ष लोकप्रियता बढाउन कार्यातालिका कार्यान्वयनमा लैजाने निर्णय भएको हो,’ गुरुङले भनिन्।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले चालू आव ०८२/८३ मा उत्पादन भइरहेको स्याउको बिक्री गर्ने समयसहित स्याउ टिप्ने कार्यतालिका निर्धारित गरिएको उल्लेख गरे । यहाँको स्याउ परिपक्व भई पर्याप्त गुलियोपना भएपछि मात्रै टिपेर बजार पठाउँदा गुणस्तर र पहिचान जोगिने भएकाले जिल्लास्तरीय बैठकको निर्णयबमोजिम तीन चरणको कार्यतालिका बनाइएको उनको भनाइ छ ।

यसअघि केन्द्र र स्याउ जोन कार्यालयका प्राविधिकले स्थानीयस्तरमा स्याउको गुणस्तर तथा गुलियोपनाको प्राविधिक परीक्षण गर्दै आएका केन्द्रका प्रमुख गुरुङले उल्लेख गरे । यस वर्ष कृषकको बगैँचामा पुगेर गाला र किङरट स्याउको गुणस्तर परीक्षण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सोही परीक्षणलाई आधार बनाएर सरोकार भएकाहरूसँग गरिएको छलफलपछि स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको हो । 

विगतका वर्षहरूमा व्यापारीले स्याउको गुलियोपना नभरिँदै मुनाफाका लागि बजार पुर्‍याउने परिपाटीले मुस्ताङको स्याउमा उपभोक्ताले खोट लगाउने गरेकाले उक्त अवस्था अन्त्यका लागि नयाँ ढाँचा सार्वजनिक गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरे । ‘व्यापारीले जेठ–असारमै कृषकको बगैँचामा पुगेर बैनापट्टा गर्ने र चाडपर्वको अवसर पारेर स्याउ नपाक्दै बजार पुर्‍याउने गरेकाले यहाँको स्याउको पहिचान खस्किएको हो,’ उनले भने । 

उच्च भेगमा रहेकाले मुस्ताङको स्याउ नेपालकै उत्कृष्ट मानिने भएकाले यसको गुणस्तर र पहिचान जोगाउन आवश्यक देखिएपछि सरोकार भएकाहरूसँग बैठक बसेर कार्यतालिका बनाइएको केन्द्रका प्रमुख गुरुङले उल्लेख गरे ।

मुस्ताङमा आव ०८१/८२ मा रु. ९१ करोड ८६ लाखबराबरको स्याउ उत्पादन भएकामा रु. ८२ करोड ६८ लाखको जिल्लाबाहिर पठाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रको तथ्यांकअनुसार गत आवमा यहाँ नौ करोडबराबरको स्याउ खपत भएको थियो ।

मुस्ताङका पाँच स्थानीय तहमा ८३० हेक्टर क्षेत्रफलमा स्थानीय जातका परम्परागत स्याउखेती विस्तार भएकामा ५६६ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले उत्पादन दिने गरेको केन्द्रका प्रमुख गुरुङले जानकारी दिए। उनका अनुसार करिब ६० हेक्टरमा उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ खेती गरिएकामा ५० हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष जिल्लामा सात हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यसमध्ये ६ हजार ७८ मेट्रिक टन स्थानीय जातका र एक हजार २५० मेट्रिक टन हाइब्रिड स्याउ उत्पादन भएको थियो ।