
ठुलो चट्टानसहितको पहिरोका कारण कालीगण्डकी करिडोर–बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । करिडोरको बागलुङ–बलेवा खण्डअन्तर्गतको बागलुङ नगरपालिका– १३, पैयुँपाटा कालाखोलामा माथिबाट आएको चट्टानसहितको पहिराेले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।
गत शनिबार सोही ठाउँमा आएको पहिरो मंगलबार बिहान मात्र हटाउन सफल भएर एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको थियो । तर, बुधबार बिहान करिब ९ः३० बजेको समयमा ठुलै चट्टान नै खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको मालढुंगा प्रहरी चेकपोस्टका प्रहरी हवल्दार रामप्रसाद आचार्यले जानकारी दिए । आचार्यका अनुसार अहिले वर्षा भएको र पहिरो झनै खस्दै गएको छ, यसअघि गएकै ठाउँमा थपिएका कारण पहिरो हटाउनका लागि तत्काल कठिनाइ रहेको बताइएको छ ।
सडक अवरुद्ध हुँदा दक्षिण बागलुङको सिधा यातायात टुटेको छ । बलेवा क्षेत्र, जैमिनी र बरेङ गाउँपालिका क्षेत्रबाट सदरमुकाम आउने यातायातका साधन ठप्प भएका छन् । विगतका वर्षमा करिडोरको यस खण्डमा दब्लाङको पहिरोले पनि समय–समयमा सताउँदै आएकोमा यस वर्ष कालाखोलाको पहिरोले झनै कठिनाइ बनाएको छ ।