
काठमाडौं महानगरपालिकाले विद्यालय सञ्चालनको अनुमति लिएर सञ्चालन नगर्ने, कागजमा मात्रै सिमति विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु गरेको छ । बुधबार बसेको नगर शिक्षा समितिको बैठकले यस्तो प्रक्रिया अघि बढाएको हो ।
बैठकमा सामुदायिक तथा संस्थागत विद्यालयहरूको कक्षा र विषय थप, नाम र स्थान परिवर्तन, स्वामित्व परिवर्तन, सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी, वैकल्पिक विद्यालय स्थानान्तरण, वार्षिक बजेट तथा शैक्षिक सुधारका विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ ।
बैठकले नाम परिवर्तनका लागि कागजात पेश गरेका २१ वटा विद्यालयलाई अनुमति दिएको छ । केही विद्यालयहरूको नाम परिवर्तनका लागि ३५ दिने सूचना अवधि पूरा नभएकाले उनीहरूको निर्णय पछि गरिनेछ ।
महानगरको शिक्षा विभागका अनुसार रानीदेवी माध्यमिक विद्यालय, काठमाडौं–३, रानीबारीलाई शैक्षिक सत्र ०८२ देखि १० कक्षा सञ्चालन गर्न अनुमति दिएको छ । पशुपति मित्र मावि, गीतामाता, जनकल्याण, जनपथ र नेपाल आदर्श माध्यमिक विद्यालयलाई प्राविधिक धारमा कक्षा १२ मा सिभिल र कम्प्युटर इन्जिनियरिङ विषय थप गर्न अनुमति प्रदान गरिएको छ । संस्थागत विद्यालयहरूको कक्षा र विषय थपका लागि १२ वटा विद्यालयलाई अनुमति दिने विषयमा छलफल भएको छ ।