मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
Invalid date format o९:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ऐँसेलुखर्क गाउँपालिकाको दुईदिने एकीकृत सेवा शिविर काठमाडौंको चाबहिलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१८:oo

ऐँसेलुखर्क गाउँपालिकाले राजधानी काठमाडौंमा बसोबास गर्दै आएका नागरिकलाई लक्षित गरेर दुईदिने एकीकृत सेवा शिविर सुरुवात गरेको छ । कामविशेषले राजधानी काठमाडौं बस्दै आएका ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई लक्षित गरेर उनीहरू बसिरहेकै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यसहित गाउँपालिकाले दुईदिने एकीकृत सेवा शिविर आयोजना गरेको हो । 

काठमाडौंस्थित चाबहिलको फुजी एकेडेमीमा सञ्चालन गरिएको दुईदिने एकीकृत सेवा शिविर गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई र उपप्रमुख राजेशकुमार राजभण्डारीले संयुक्त रूपमा ९२ वर्षीया दिलकुमारी राजभण्डारीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणको प्रमाणपत्र दिएर औपचारिक शुभारम्भ गरेका छन् । शिविरको पहिलो दिन हिजो (मङ्गलबार) विभिन्न वडाका एक सय २० जना नागरिकले सेवा लिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ३ ऐँसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले दिए । 

शिविरमा सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका लाभग्राहीको नवीकरण, जन्म, मृत्यु तथा विवाह दर्ता, बसाइँसराइ र राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिने जनाइएको छ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा (४) बमोजिम अनिवार्य रूपमा लाभग्राहीको बायोमेटिक भेरिफिकेसन गर्नुपर्ने भएकाले राजधानी काठमाडौं र इटहरीमा शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । 

सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका सबै लाभग्राहीको विवरण आगामी भदौ मसान्तभित्र नवीकरण गर्नुपर्ने भएकाले वर्षाका कारण धेरै लाभग्राही गाउँपालिकाको कार्यालयमा उपस्थित हुन नसक्ने भएपछि काठमाडौंमा बसोबास गर्दै आएका लाभग्राहीलाई काठमाडौंमै सेवा उपलब्ध गराउन एकीकृत सेवा शिविर आयोजना गरिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिए ।

‘अहिले वर्षाको समय छ । लाभग्राहीहरू गाडी रिजर्भ गरेर गाउँपालिकाको कार्यालय आउँदा धेरै खर्च हुन्छ,’ उनले भने, ‘ज्येष्ठ नागरिक र अपांगता भएका लाभग्राहीलाई लक्षित गरेर काठमाडौं र इटहरीमा एकीकृत सेवा शिविरको आयोजना गरेका छौँ । गाउँपालिकाले आफू बसेकै ठाउँमा सेवा उपलब्ध गराएपछि लाभग्राहीहरु हर्षित भएका छन्।’ 

गाउँपालिकाले आयोजना गरेको एकीकृत सेवा शिविर सञ्चालनका लागि आवश्यक उपकरणसहित कर्मचारी तथा गाउँपालिकाभित्रका सबै वडाध्यक्षहरू राजधानी काठमाडौं पुगेका छन् । गाउँपालिकाको विभिन्न वडामा स्थायी घर भई सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका लाभग्राहीहरू काठमाडौंमा मात्रै दुई सय जनाभन्दा बढी रहेको प्रवक्ता राजभण्डारीले जानकारी दिएको छ। 

आफ्ना नागरिकलाई पञ्जीकरणसम्बन्धीका सबै सेवा सहज रूपमा उपलब्ध गराउने गाउँ कार्यपालिकाको निर्णयअनुसार गाउँपालिकाले आगामी भदौ १ र २ गते इटहरीमा समेत एकीकृत सेवा शिविरको आयोजना गर्ने जनाइएको छ। सातवटा वडा रहेको ऐँसेलुखर्क गाउँपालिकाबाट एक हजार १०६ जना विभिन्न प्रकृतिका लाभग्राहीले नियमित रूपमा सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन्।