मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
टेकराज थामी काठमाडाैं
Invalid date format o७:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मितेरी सहकारी ठगी प्रकरणमा सिआइबीको अनुसन्धान सकियो, कांग्रेस उपसभापति गुरुङलाई उन्मुक्ति दिएर प्रतिवेदन पेस हुँदै

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४८:oo

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार सहकारी वकिल कार्यालय, काठमाडौंमा पेस गर्ने तयारी भएको छ । उक्त घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको छ ।

सिआइबीका अनुसार यस प्रकरणमा ज्योतिबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिकारी, ज्योति गुरुङ, हितमान थापा र प्रकाश थापालाई प्रतिवादी बनाइएको छ । तर, घटनामा संलग्न रहेको आरोप लागेका सत्तारूढ दल कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङलाई भने प्रतिवादी नबनाई उन्मुक्ति दिइएको छ । प्रतिवादी बनाइएकाविरुद्ध बिगो रकम चार अर्ब रुपैयाँ नाघ्ने सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले बताए । ‘घटनाको अनुसन्धान लगभग सकिएको छ । बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गर्ने तयारी छ,’ उनले भने, ‘घटनामा ६ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध दाबी गर्ने बिगो रकमको परिमाण यकिन हुँदै छ । सबै गरी चार अर्ब रुपैयाँ नाघ्ने देखिएको छ ।’

प्रतिवादीमध्ये ज्योतिबहादुर, सुवास र सुरेश पक्राउ परेका छन् । बाँकी अभियुक्तविरुद्ध ६ असोज ०८१ मा नै पक्राउ पुर्जी जारी भए पनि फरार नै छन् । सिआइबीका अनुसार कांग्रेस उपसभापति धनराज प्रतिवादी छैनन् । उनको संलग्नता नदेखिएको हुँदा प्रतिवादी नबनाइएको सिआइबीका एसएसपी होबिन्द्र बोगटीले बताए । अहिलेसम्मको अनुसन्धानमा धनराज गुरुङको संलग्नता कतै भेटिन्न, त्यसो हुँदा उनलाई प्रतिवादी बनाइएको छैन,’ उनले भने । 

सिआइबीले ५६ दिनदेखि ठगी तथा संगठित अपराधअन्तर्गत घटनाको अनुसन्धान गरिरहेको छ । ठगीमा ज्योतिबहादुरसहित सुवास मुख्य योजनाकार रहेको सिआइबीको निष्कर्ष छ । उनीहरू सहकारी ठगीसहित क्रिप्टो र हुन्डी कारोबारमा समेत संलग्न थिए । यस क्रममा सुवासले मात्रै चार अर्ब रुपैयाँभन्दा धेरै रकमको हुन्डी र क्रिप्टो कारोबार गरेका छन् । 

सुवास १० असार ०७३ मा हुन्डी कारोबारको ३६ लाख रुपैयाँसहित पक्राउ परेका थिए । त्यसबाहेक उनी नक्कली नोटको कारोबारमा पनि संलग्न थिए । उनलाई प्रहरीले १० लाख रुपैयाँ नक्कली नोटसहित ७ कात्तिक ०८१ मा पक्राउ गरेको थियो । 

ठगिनेमा मितेरीका अध्यक्ष कुम्भराज (केबी) गुरुङ र घटनाका फरार ज्योतिसमेत रहेको अनुसन्धानबाट देखिएको छ । उनीहरूबाट मात्रै सुवासले २२ करोड रुपैयाँभन्दा धेरै रकम लगेको अनुसन्धानबाट खुलेको छ । सिआइबीका अनुसार ज्योति गुरुङले आफ्नोसहित माइतीको समेत घरजग्गा बेचेर उक्त रकम जुटाएकी थिइन् । त्यस्तै, केबीले पनि निजी घर बेचेर उक्त रकम जुटाएको अनुसन्धानबाट खुलेको छ । 

ज्योति अहिले अमेरिकामा छिन् । ज्योति कांग्रेस उपसभापति तथा सांसदसमेत रहेका धनराज गुरुङकी पूर्वपत्नी हुन् । धनराज र ज्योतिबिच २९ फागुन ०७६ मा सम्बन्धविच्छेद भएको थियो । ज्योतिले त्यसअघि नै ज्योतिबहादुरलाई तीन करोड रुपैयाँ दिएकी थिइन् । उनले त्यहीआसपास सहकारीको १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ लिएकी थिइन् । अपचलन भएको सोही रकममा ब्याज जोडेर सहकारीले लिनुपर्ने रकम १४ करोड ८१ लाख रहेको भन्दै आएको छ । 

पछिल्ला दिन ज्योति गुरुङको सम्बन्ध ज्योतिबहादुरसँग झाँगिएको थियो । सोही सम्बन्धको फाइद उठाउँदै ज्योतिबहादुर र सुवासले उनीबाट रकम लिएको अनुसन्धानबाट खुलेको छ । सहकारीले भने धनराज र ज्योतिबिचको सम्बन्धविच्छेद कागजी रहेको बताउँदै आएको छ । यसका लागि सहकारीले मुख्य आधार ३ फागुन ०७७ मा धनराजले सहकारीबाटै लिएको १२ लाख रुपैयाँ ऋणलाई मानेको छ । किनकि ऋणपत्रमा धनराजले हकवाला भनी ज्योतिकै नाम उल्लेख गरेका छन् । ऋणपत्रमा धनराजकै हस्ताक्षर छ ।

यो तथ्यलाई सांसद सूर्य थापाको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले पनि स्वीकार गरेको छ । त्यसैलाई आधार मानेर समितिले धनराजविरुद्ध पनि छानबिन गरिनुपर्ने भन्दै सरकारसमक्ष सिफारिस गरेको छ ।