Skip This
सम्झना मृत्यु प्रकरण : पाँचौँ दिन महाकाली नदीमा अन्त्येष्टि
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २३ शुक्रबार
  • Friday, 08 August, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ श्रावण २३ शुक्रबार १३:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सम्झना मृत्यु प्रकरण : पाँचौँ दिन महाकाली नदीमा अन्त्येष्टि

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ श्रावण २३ शुक्रबार १३:१८:oo

आफ्नै कोठामा मृत भेटिएकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका– २, सिहपाल टोलकी सम्झना भट्टको अन्त्येष्टि गरिएको छ। १८ साउनमा १७ वर्षीया सम्झना झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । माइती पक्षले आत्महत्या नभई हत्या भएकाले सबैमाथि छानबिन गरेर दोषीउपर कारबाहीकाे माग अघि सार्दै आएकाे थियाे। 

बिहीबार पोस्टमार्टम गरेर शुक्रबार बिहान महाकाली नदीमा अन्त्येष्टि गरिएको हो। सम्झनाको माइती पक्षका आफन्त जयराज भट्टले धार्मिक परम्पराअनुरूप घर पक्षले महाकाली नदीमा अन्त्येष्टि गरेको बताए । उनका अनुसार सम्झनालाई दु:ख दिने, कुटपिट गर्ने श्रीमान् पवन, ससुरा हरि, सासू किरण र दिदीसासू ीपालाई पक्राउ गरेर घटनाको सत्यतथ्य छानबिन गर्ने प्रहरीले आश्वासन दिएपछि अन्त्येष्टि गरिएको बताए। 

भीमदत्त नगरपालिका– ६, ऐठपुर महेन्द्रनगरकी सम्झना र बेलडाँडी– २, सिहपाल टोलका पवनकोे विवाह भएकाे ६ महिना नबित्दै सम्झना सदाका लागि विलय भएकी छिन् । प्रेम सम्बन्धमा रहेका सम्झना र पवनको १८ फागुन ०८१ मा विवाह भएको थियो। विवाह भएको ६ महिना पनि पूरा नहुँदै सम्झना झुन्डिएर मृत फेला परेपछि माइती पक्षले घर पक्षमाथि मर्न बाध्य बनाएको भन्दै घटनाको छानबिन गर्नुपर्ने माग अघि सारेका छन्। 

विवाहलगत्तै निरन्तर घरमा हुने झैझगडा कलहकै कारण छोरी गुमाउनुपरेको माइती पक्षको भनाइ छ। सम्झनाका बाबु भोजराज भट्ट बिहे गरेपछि घरपरिवारमा पटकपटक मानसिक तनाव दिने गरेको बताए। उनका अनुसार एक दिनअघि पनि इप्रका बेलडाँडीमा सम्झना र उनका श्रीमान् पवनलाई प्रहरीले सम्झाइबुझाई गरेको थियो । सम्झना आफ्नै घरमा झुन्डिएर मृत फेला परेपछि माइती पक्षले शरीरमा नीलडाम, घाउचोट भएकाले मर्न बाध्य बनाएको आशंका गरेका छन् ।

‘बिहे भएपछि छोरीलाई पटकपटक मानसिक तनाव दुःख दिने काम गर्दै आएका  थिए,’ उनले भने, ‘छोरीले घरमा पनि यस्तै भन्दै आएकी थिइन्, शनिबारै घर आउन खोजेपछि सम्झनासँग एक हजार रुपैयाँ नहुँदा घर फर्किइनन्, बिहानै पनि प्रहरीले आएर झैझगडा नगर्न सम्झाइबुझाई गरेर पठाएको थियो, तर पनि छोरी बाँचिनन् ।’ सम्झनाकी बहिनी आरती भट्टले भिनाजुले अनावश्यक तनाव दिएकाले दुर्घटना घटेको बताउँदै न्यायका लागि आह्वान  गरेकी छिन्। उनले घरपरिवारबाट तनाव दिएकै कारण दिदीले यस्तो निर्णय लिएको बताइन्।

माइती पक्षले घर पक्षलाई मर्न बाध्य पारेको बताइरहेका वेला घर पक्षले उतिवेला नै उमेर नपुगेकाले विवाह नगरौँ, पछि गरौँला भने पनि माइती पक्षले नमानेको र  आफूहरूले  हिंसा, दबाब, कुटपिट नगरेको दाबी गर्दै आएका छन् । एलबिए कक्षा १२ मा अध्ययनरत छोरी गुमाएपछि भट्ट परिवार शोकमा डुबेको छ।  सहपाठी विद्यार्थी सडकमा उत्रिएका थिए।