
कार्टुनिस्ट क्लब अफ नेपालले यस वर्ष पाँचजना वरिष्ठ कार्टुनिस्टलाई ‘बराथा स्मृति सम्मान’ प्रदान गर्ने भएको छ। तीन दशकदेखि पाँच दशकसम्म कार्टुन सिर्जनामा सक्रिय यी कलाकारलाई एकै समारोहमार्फत सम्मान गरिने क्लबले जनाएको छ।
दिवंगत कार्टुनिस्ट बलराम थापाको सम्झनामा क्लबले प्रदान गर्दै आएको यो सम्मान यसपटक बराथा स्मृति सम्मान २०८२ का लागि अबिन श्रेष्ठलाई छनोट गरेको छ। तीन दशकभन्दा बढी समयदेखि कार्टुन क्षेत्रमा आबद्ध श्रेष्ठ हाल कान्तिपुर दैनिकमा कार्यरत छन्। क्लबका पूर्वअध्यक्षसमेत रहेका उनले बेस्ट अफ अबिन (भाग १ र २) पुस्तक प्रकाशित गरेका छन्।
बराथा स्मृति सम्मान २०८१ राजेश केसीलाई प्रदान गरिनेछ। तीन दशकभन्दा बढी समयदेखि कार्टुन सिर्जनामा सक्रिय केसी क्लबका पूर्वअध्यक्ष हुन्। फोटोग्राफरका रूपमा पनि परिचित उनी ‘राजेश केसीको कार्टुनसंग्रह भाग १’ पुस्तकका लेखक हुन्।
बराथा स्मृति सम्मान २०८० रविन सायमीलाई प्रदान गरिनेछ। २०४६ सालअघि नै कार्टुन यात्रा सुरु गरेका सायमी हाल नागरिक दैनिकमा कार्यरत छन्। तीन दशकभन्दा बढीको अनुभव बोकेका उनी देशकै चर्चित कार्टुनिस्टमध्ये एक मानिन्छन्।
बराथा स्मृति सम्मान २०७८ जीवन राजोपाध्यायलाई प्रदान गरिनेछ। विगतमा अत्यन्त सक्रिय रहेका राजोपाध्याय अहिले चित्रकलामा समर्पित छन् र नेपाल आर्ट काउन्सिलसँग आबद्ध छन्।
बराथा स्मृति सम्मान २०७७ अशोकमान सिंहलाई प्रदान गरिने क्लबले जनाएको छ। पाँच दशकदेखि कार्टुन क्षेत्रमा निरन्तर सक्रिय सिंह क्लबका संस्थापक अध्यक्ष हुन्। उनले रंग र ग्राफिक कम्युनिकेसनलगायत पुस्तक प्रकाशित गरेका छन्। ग्राफिक्स डिजाइनदेखि आख्यान लेखनसम्ममा उनको दक्षता छ।
क्लबका अध्यक्ष वासु क्षितिजका अनुसार विज्ञ सिफारिस समितिको निर्णयअनुसार सम्मानको सूची तय गरिएको हो। ‘विगतमा बर्सेनि दिइँदै आएको यो सम्मान कोभिड– १९ लगायतका कारण केही वर्षदेखि रोकिएको थियो,’ क्षितिजले भने, ‘त्यसैले यसपटक पाँचैजनालाई एकैपटक सम्मान गर्न लागिएको हो।’
सम्मान समारोह साउन २६ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा विशेष कार्यक्रमबिच आयोजना गरिनेछ।