
ऊर्जा व्यवसायीहरूले बजेट वक्तव्यबाट नदी प्रवाहमा (आरओआर) आधारित जलविद्युत् परियोजनाको विद्युत् खरिद सम्झौता टेक एन्ड पे (लेउ र तिर)को व्यवस्था हटाउनु स्वागतयोग्य भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले बिहीबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै यो महत्वपूर्ण उपलब्धि भएको बताएको हो ।
१५ जेठमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत आरओआर आयोजनाको पिपिए टेक एन्ड पेमा गर्ने बताएका थिए । त्यसपछि ऊर्जा व्यवसायीलगायतका सरोकारवालाको चौतर्फी विरोधपछि गत मंगलबार संसद्बाट अर्थमन्त्री पौडेलले उक्त व्यवस्था हटाएका हुन् । त्यसपछि इप्पानले बिहीबार पत्रकार सम्मेलन गर्दै त्यसको स्वागत गरेको हो ।
‘बजेटमै टेक एन्ड पे पिपिए गर्ने घोषणा भएकोमा यसलाई परिवर्तन गरी वित्तीय जोखिम मूल्यांकनका आधारमा ऊर्जा खपत र निर्यात हुने यकिन भएका विद्युत् प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएका आयोजनाको पिपिए गर्न सकिने उल्लेख गरिएको छ । संसद्मा स्पष्ट रूपमा सम्माननीय प्रधानमन्त्रीले टेक एन्ड पे पिपिए हटाइएको र माननीय अर्थमन्त्रीले संशोधनको प्रस्तावसहित निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने अभिव्यक्ति दिनुभएको छ,’ इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।