
पशुपतिमा शव जलाउने विद्युतीय मेसिन (फर्नेस) खरिदमा भ्रष्टाचार गरेको आरोमा १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सदस्यसचिव मिलनकुमार थापासहितविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले कोषका बोर्ड सदस्य तथा कर्मचारी तथा ठेकदारलाई पनि प्रतिवादी बनाएको छ। १४ व्यक्ति र २ कम्पनीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।
कोषले म्याप इन्टरपेनर्स प्रालिसँग मेसिन खरिद गरेको थियो। मिलेमतोमा मेसिन खरिद गरेको भन्दै साढे १० करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो। विवादकै कारण मेसिन खरिदको भुक्तानी भने भइसकेको छैन।
मुद्दा दायर भएका सदस्यसचिव थापाविरुद्ध यसअघि जलहरी प्रकरणमा मुद्दा दायर भएकोमा सफाइ पाएपछि पुनः पदमा फर्किएका थिए।
कोषले चारवटा मेसिन खरिदका लागि ०८० असोजमा म्याप इन्टरप्रेनर्स प्रालिसँग सम्झौता गरेको थियो। जसअनुसार पाँच करोड ६५ लाख ५४ हजार ७९० रुपैयाँमा खरिद गरिएका दुईवटा मेसिन गत वर्ष नै जडान गरिएका थिए। तर, ठेकेदार, कोषका पदाधिकारी तथा कर्मचारीबिच कमिसनको कुरा नमिलेपछि ती मेसिनको भुक्तानी रोकिएकै आएको स्रोत बताउँछ।
जलहरीको भ्रष्टाचार मुद्दामा कोषका सदस्यसचिव मिलन थापा निलम्बनमा परेका वेला तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्रीले खरिद सम्झौता गरेका थिए। उनले नै २ वैशाख ०८१ मा पहिलो चरणमा भुक्तानी गर्ने निर्णय पनि गरेका थिए। तर, पछि अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि सदस्यसचिवमा फर्किएका थापाले भुक्तानी रोके।
आयोगले कोषका सदस्यसचिव थापासहित तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, इन्जिनियर पशुपति ठाकुर, निमित्त उपनिर्देशक सीताराम रसेल, उपनिर्देशक रेवतीरमण अधिकारी, कोषका लेखा अधिकृत चन्द्रप्रसाद खनाल, इन्जिनियर रमेश पुरी, इन्जिनियर डेनिस उप्रेती, कोषका कानुनी सल्लाहकार लैनकुमार थापालाई प्रतिवादी बनाइएको छ।
त्यस्तै, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका इलेक्ट्रिकल विभागका उपप्राध्यापक युवराज अधिकारी, म्याप इन्टरप्राइजेजका सञ्चालकहरू मनोज पुरी र यदुनन्दन भट्टराईविरुद्ध पनि मुदा दायर भएको छ।
त्यस्तै, एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सलटेन्सी प्रालि र यसका सञ्चालक सुरज चापागाईंविरुद्ध पनि मुद्दा दायर भएको छ।