
व्यवसाय प्रवर्द्धन हुन नसकेपछि सल्यानमा उद्योग–व्यवसाय धमाधम बन्द हुन थालेका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०८१/८२ को हालसम्म ४० वटा उद्योग बन्द भइसकेका छन् ।
स्थानीय उत्पादनलाई प्राथमिकता नदिँदा साना तथा घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेको कालिका इन्जिनियरिङ कृषि अनुसन्धान केन्द्रका सञ्चालक घनश्याम भण्डारीले बताए ।
उद्योगको उत्पादन बाह्य जिल्लाबाट माग भए तापनि जिल्लाकै स्थानीय तहले वास्ता नगर्ने गरेको उनको भनाइ छ । कतिपय उद्योग अनुदान पाउने आशामा दर्ता हुने गरेको, तर अनुदान प्राप्त नभएमा वा एकपटक अनुदान पाएपश्चात् उद्योग बन्द गर्ने प्रवृत्ति बढेको हो । त्यस्तै, प्राकतिक तथा भवितव्यका कारण उद्योगमा क्षति हुन पुगेमा पुनः सञ्चालन गर्नका लागि उद्योगीसँग आर्थिक अभाव हुने कारण पनि उद्योग बन्द हुने अवस्थामा पुगेको कार्यालय प्रमुख श्यामलाल खरालले बताए ।