
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–५, टुसालमा एक युवकको कुटपिट गरी हत्या गरिएको घटनामा संलग्न रहेका चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बारा निजगढ नगरपालिका–८ का जितबहादुर तामाङका ३२ वर्षीय छोरा कृष्ण लामाको कुटपिटबाट मृत्यु भएपछि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार कृष्ण लामा आफ्ना साथी विकास लामाकी बहिनीको जन्मदिन मनाउन गत असार ६ गते शुत्रबार राति टुसालस्थित लामाको कोठामा गएका थिए। सोही वेलामा उनीमाथि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका लामाको त्यहीँ मृत्यु भएको बताइएको छ।
प्रहरीले घटनापछि फरार रहेका चारजना अभियुक्तलाई असार ७ गते शनिबार पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा मकवानपुर घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका–५, टुसाल बस्ने ३२ वर्षीय विकास लामालो, बारा निजगढ नगरपालिका–७ का २९ वर्षीय सुगन्ध लामा, सोही वडाका १८ वर्षीय सौगात क्षेत्री र मकवानपुरको बकैया गाउँपालिका–२ का २३ वर्षीय निसान जिम्भा छन्।
‘कुटपिटबाट गम्भीर घाइते भएका कृष्ण लामाको मृत्यु भएको खबर प्राप्त भएपछि हाम्रो टोली खटेर अनुसन्धान अघि बढायौँ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले भने, ‘अभियुक्तहरूलाई पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको छ।’
घटनाको कारण खुल्न नसकेको भए पनि अनुसन्धानपछि थप तथ्य सार्वजनिक गरिने प्रहरीको भनाइ छ। हत्या घटनाले स्थानीय क्षेत्र त्रसित बनेको छ। प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगन्जमा पठाइएको जनाएको छ।