१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
Invalid date format १o:५८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिमा नपाएपछि स्याउ किसान सडकमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५८:oo

चन्दननाथ नगरपालिका– ९, श्रीदुस्काका रतन रोकायाले करिब १० हजार वर्गमिटर जमिनमा सात सय स्याउको बिरुवा लगाएका छन् । त्यसमध्ये तीन सय स्याउका बिरुवाको बिमा गरेका उनले १६ हजार बिमांक रकम तिरेका छन् । तर, तुसारो र असिनाले ५ प्रतिशत बिरुवामा पनि स्याउ नफल्दा उनले बिमा रकम पाएका छैनन् । त्यस्तै, तातोपानी गाउँपालिका– ५, लाम्राका आनन्द हमालले १९ हजार बिमांक तिरेर चार सय बिरुवाको बिमा गराएका छन् । तर, बिरुवामा फल नलाग्दा उनले पनि बिमा रकम पाएका छैनन् । उनीजस्तै धेरै स्याउ किसानले बिमा रकम नपाएपछि सडकमा आएका छन् । 

शिखर इन्स्योरेन्स कम्पन्नीमा जुम्लाका पाँच हजार तीन सयभन्दा बढी किसानले मौसममा आधारित खडेरी र असिना बिमा गराएका छन् । चालू आर्थिक वर्ष सकिन लाग्दा पनि कम्पन्नीले बिमा दाबी भुक्तानी नदिएपछि सडकमा उत्रिन बाध्य भएको किसानले बताएका छन् ।  

स्याउ बिमा भुक्तानी पहल समितिका संयोजक किसान खड्कबहादुर सेजुवालले आर्थिक वर्ष सकिन लाग्दासमेत बिमा गरेबापतको रकम भुक्तानी नपाउँदा आन्दोलन नै गर्नुपरेको बताए । उनले भने, ‘गत वर्ष खडेरी परेर जिल्लाभरको स्याउ खेतीमा क्षति भयो । असिनापानीले पनि त्यस्तै क्षति ग¥यो । उत्पादन नभए पनि बिमाबाट राहत पाउने आशामा थियौँ । तर, भुक्तानी हुन्छ भन्दा–भन्दै टार्न खोजेपछि सडकमा उत्रिएका हौँ ।’ 

सरकारको ८० प्रतिशत अनुदान र आफ्नो २० प्रतिशत प्रिमियम शुल्क तिरेर बिमा गर्दा खुसी भएका जुम्ली किसान अहिले निराश भएका छन् । एक हप्ताभित्र बिमा भुक्तानीको टुंगो नलागे कम्पन्नीको कार्यालयमै ताला लगाउने किसानले चेतावनी दिएका छन् । जुम्लाका आठै स्थानीय तहको सबै भूभाग स्याउ खेतीका लागि उर्वर भूमि हो । विगतमा निकै न्यून रूपमा स्याउ बिमा गर्ने जुम्ली किसान केही वर्षयता प्राकृतिक विपत् बढ्न थालेपछि राहत पाउने आशामा बिमा गर्न थालेका थिए । तर, छोटो समयमै सहज भुक्तानी नपाउने स्थिति देखिएपछि किसान त्रसित भएका छन् । शुक्रबार जुम्ला बजारमा प्रदर्शन गरेका किसानले बिमा दाबी भुक्तानीका लागि कम्पन्नीलाई एकहप्ते अल्टिमेटमसमेत दिएका छन् । 

शिखर इन्स्योरेन्स कम्पन्नीका अनुसार हालसम्म जुम्लाका पाँच हजार तीन सय किसानले स्याउ बिमा गरेका छन् । जुम्लामा किसान आन्दोलित भएपछि शिखर इन्स्योरेन्स कम्पन्नीको मुख्य कार्यालय काठमाडौंले सरकारले दिने करोडौँ अनुदान रोकिँदा किसानलाई बिमा भुक्तानी दिन नसकिएको जनाएको छ । प्रतिबिरुवाको प्रिमियम शुल्क एक सय ५० रुपैयाँमध्ये किसानले ३६.२० रुपैयाँ र सरकारले एक सय १४ रुपैयाँ तिरिदिने प्रावधान छ । सोही प्रावधाननुसार आर्थिक वर्ष ०८०/८१ मा सरकारले बिमा कम्पन्नीलाई दिनुपर्ने ३२ करोड अनुदान रकम निकासा नभएकाले जुम्लाका स्याउ किसानको बिमा भुक्तानी हुन नसकेको जनाएको छ । साथै बिमा कम्पन्नीले सरकारको अनुदान रकमको दुरुपयोग गर्न कम बिरुवा रोपेको र बिमा अभिलेखमा बिरुवा संख्या बढाएको पाइएको छ । किसानले गलत मनसायले बोट संख्या बढाएको बिमा कम्पन्नीको दाबी छ । 

आर्थिक वर्ष ०८०/८१ मा खडेरी असिना बिमा गरेका सात हजार पाँच सय ७४ कृषकमध्ये ६ हजार ६ सय १३ कृषकको स्थलगत बगैँचा निरीक्षण गर्दा सरदर करिब २५ प्रतिशत बिरुवा संख्या बढाएर बिमा गरेको देखिएको छ भने नौ सय ९४ जना किसानको बिरुवा संख्या यकिन गर्नसमेत सकिएको छैन । एकातिर अनुदान पचाउन बिरुवा संख्या बढाएर किसानले बिमा गरेको र अर्कोतर्फ सरकारले दिने ८० प्रतिशत अनुदानबाट हुन आउने ३२ करोड रुपैयाँ निकासा नहुँदा बिमा भुक्तानीमा कठिनाइ भएको बिमा कम्पन्नीले जनाएको छ । 

छुटाउनुभयो की ?