
नियन्त्रणमा लिएका अभियुक्त भाग्न खोजेपछि कैलालीको भजनी नगरपालिका–७ मा प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन्।
टीकापुरमा गत १५ जेठमा एक व्यक्तिमाथि भएको खुकुरी प्रहारमा संलग्न भनिएका दुईजनालाई प्रहरीले आज कैलारी गाउँपालिकाको शिवरत्नपुरबाट पक्राउ गरेको थियो। टीकापुर लैजाने क्रममा भजनी पुगेका वेला उनीहरू भाग्न खोजेपछि गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।
टीकापुरका स्थानीय टेकेन्द्रसिंह विष्टमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले धनगढीका मिलन चन्द र अछामका रिदम ढुंगानालाई शिवरत्नपुरबाट पक्राउ गरेको थियो। तिघ्रामा गोली लागेका दुवैजनालाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
‘पक्राउ परेकाहरूलाई प्रहरीको टोलीले गाडीमा टीकापुर लग्दै थियो,’ सिंहले भने, ‘भजनी पुगेका वेला पिसाब फेर्ने भनेर भाग्न खोजेपछि गोली हानेर नियन्त्रणमा लिइएको हो।’
घटनापछि फरार रहेका उनीहरूलाई प्रदेश प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए। टीकापुरस्थित घरनजिकै क्याफेमा कफी पिउँदै गरेका विष्टमाथि खुकुरी प्रहार भएको थियो।