
देशको एक मात्र जलाशययुक्त जलविद्युत् आयोजना कुलेखानीमा पानीको सतह घट्दै गएको छ । सोमबार साँझसम्म इन्द्रसरोवरको पानीको सतह समुद्री सतहबाट एक हजार चार सय ८६.३९ मिटरमा झरेको छ । कुलेखानी जलविद्युत् केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टले केहिदिन यता गर्मी बढेसँगै विद्युत् माग उच्च हुँदा नियमित विद्युत उत्पादन गर्नुपरेकाले सरोवरमा पानीको सतह घटेको बताए । केही दिनयता पानी पनि नपरेकाले पानीको सतह घट्दै गएको हो।
उनले हाल कुलेखानी प्रथम, दोस्रो र तेस्रो जलविद्युत् केन्द्र २४ सै घण्टा पूर्ण क्षमतामा सञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट अन्तिम विन्दु एक हजार चार सय ८४ मिटरसम्म पु¥याउन सकिन्छ । यद्यपी विजुलीको माग बढीरहे थप एक मिटर तलसम्म जान सकिने उनको भनाई छ । त्यसपछि भने कुलेखानीबाट नियमित बिजुली उत्पादन गर्न नसकिने प्रमुख भट्टले बताए ।
समुद्री सतहबाट एक हजार चार सय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने प्रमुख भट्टले बताए । ‘सोमबार साँझसम्म इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट एक हजार चार सय ८६.३९ मिटर पुगेको छ । पानीको सतह अझै दुई–तीन मिटर तल झरे पनि विद्युत् उत्पादन सम्भव छ,’ प्रमुख भट्टले भने, ‘तर एक हजार चार सय ८३ मिटरभन्दा तल झरेमा अत्यावश्यकबाहेक बिजुली उत्पादन गर्न सकिँदैन ।’
प्रमुख भट्टका अनुसार इन्द्रसरोवरमा अधिकतम एक हजार पाँच सय ३० मिटरसम्म पानी सञ्चय गर्न सकिन्छ । तर हाल नियमित उत्पादनका कारण र वर्षा नभएकाले पानिको सतह घट्दै गएको हो । विशेष गरी गर्मी बढेपछि विद्युत् माग उच्च रहेकाले ब्याकअप आयोजनाको रुपमा रहेको कुलेखानीले उत्पादन थाम्न नसकिने अवस्थामा पुगेको हो ।
गत वर्ष १० र ११ असोजमा परेको भारी वर्षाका कारण इन्द्रसरोवर ओभरफ्लो भएर बाँधका ढोका खोल्नुपरेको थियो । भट्टका अनुसार निरन्तर पानी पर्न थालेपछि हिउँ पग्लेर खोलाहरूमा बहाव बढ्ने र रन अफ रिभर प्रणालीमा आधारित जलविद्युत् आयोजनाहरू सञ्चालनमा आएपछि मात्र कुलेखानीलाई ब्याकअपमा सीमित गर्न सकिनेछ ।
कुलेखानी आयोजना विद्युत् प्रणालीमा सन्तुलन कायम गर्न महत्वपूर्ण मानिन्छ । विशेष गरी सुक्खा र गर्मी याममा नदी तथा खोलामा पानीको बहाव कम हुँदा विद्युत् आपूर्ति सन्तुलन गर्न, माग उच्च भएको समयमा वा भोल्टेज स्थिर राख्न कुलेखानीको उपयोग गर्ने गरिएको छ । कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने क्षमता रहेको छ ।