
‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग परियोजनाको मुुख्य टनेलको निर्माण कार्य सकिएसँगै सुरुङ सञ्चालनअघिको प्राविधिक परीक्षण (फेसिलिटेट टेस्टिङ) सुरु गरिएको छ । मुख्य सुरुङभित्रको निर्माणकार्य सकिएसँगै ‘फेसिलिटेट टेस्टिङ’ सुरु गरिएको हो ।
३ वैशाख ०८१ मा छिचोलिएको २६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्गको लेनलाई ‘कन्टिन्युअस्ली रिइन्फोस्र्ड कंक्रिट पेवमेन्ट’ (सिआरसिपी) प्रविधिबाट कंक्रिटसमेत गरिसकिएको छ । कंक्रिट गरिएपछि अहिले मुख्य टनेलमा ‘फेसिलिटेट टेस्टिङ’ गर्न लागिएको परियोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । अग्नि नियन्त्रण, टेलिफोन, सेफ्टी, सिसिटिभी, अक्सिजनसहितको भेन्टिलेसन, बिजुलीको परीक्षणलाई ‘फेसिलिटेट टेस्टिङ’ भनिन्छ ।
‘मुख्य टनेलभित्रको निर्माणकार्य सकिएपछि फेसिलिटेट टेस्टिङको प्रक्रिया अघि बढाइसकेका छौँ । एक साताअघि मुख्य टनेलमा बिजुली जडान गरेर आवश्यक उपकरण चार्ज गरिसकेका छौँ,’ उनले भने, ‘अब केही दिन अन्य प्राविधिक परीक्षणका काम सुरु हुनेछन्, त्यो सफल भएपछि सुरुङ सञ्चालनका लागि योग्य हुनेछ ।’ यद्यपि, सुरुङ सञ्चालनका लागि पनि केही समय सवारीसाधन गुडाएर परीक्षणसमेत गरिनुपर्ने उनले बताए ।
क्रंकिटतर्फ कति काम बाँकी ?
मुख्य टनेलको सडक लेनलाई ‘कन्टिन्युअस्ली रिइन्फोस्र्ड कंक्रिट पेवमेन्ट’ (सिआरसिपी) प्रविधिबाट कंक्रिट गरिएको छ । नेपालमा यो प्रविधिबाट सडक लेन कंक्रिट गरेको पहिलोपटक हो । यो प्रविधिले सुरुङलाई स्थिर राख्न पनि सहयोग पुग्नेछ । क्रस प्यासेजसहित रेस्क्यु टनेललाई भने ‘रिइन्फोस्र्ड कंक्रिट पेवमेन्ट’ (आरसिपी) प्रविधिबाट कंक्रिट गरिँदै छ ।
यसअन्तर्गत दुई हजार सात सय ९६ मिटर सडक कंक्रिट गर्न बाँकी छ, त्यसमा हालसम्म दुई हजार एक सय चार मिटर सडक कंक्रिट भइसकेको छ, अब ६ सय ९२ मिटर सडक कंक्रिट गर्न बाँकी छ । २५ सय ५७ मिटर लामो रेस्क्यु टनेल भने २२ साउन ०८० मा छिचोलिएको थियो ।यस्तै, राजमार्ग र सुरुङलाई जोड्ने सडकतर्फ भने हालसम्म सात हजार नौ सय ९६ मिटर सडक कंक्रिट गरिएको छ । अब दुई हजार नौ मिटर सडक कंक्रिट गर्न बाँकी छ ।
फ्लाई ओभरको निर्माण ९८ प्रतिशत सम्पन्न
परियोजनाअन्तर्गतको बलम्बु फ्लाई ओभरको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । हालसम्म आउँदा सुरुङमार्गको भौतिक प्रगति ९८ प्रतिशत पुगेको परियोजना कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरणले देखाएको छ । सुरुङको पूर्वी प्रवेशद्वारलाई पृथ्वी राजमार्गसँग जोड्न बलम्बुमा एक सय २८ मिटर लामो फ्लाई ओभर निर्माण गरिँदै छ ।
यस परियोजनाअन्तर्गतका तीनवटा अन्डरपास र चारवटा बक्स कल्भर्ट (माथि गाडी, तल पानी बग्ने संरचना) निर्माण सम्पन्न भइसकेको छ । एउटा अन्डरपास र तीनवटा पुल पनि निर्माण सम्पन्न भइसकेका छन् ।
परियोजनाको भौतिक प्रगति ८९.१ प्रतिशत
हालसम्म परियोजनाको भौतिक प्रगति ८९.१ प्रतिशत पुगेको छ । ठेक्का प्राप्त जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले डिसेम्बर ०२० (पुस ०७७) देखि सुरुङ निर्माणको काम सुरु गरेको थियो । त्यसको साढे चार वर्षमा ८९.१ प्रतिशत भौतिक प्रगति भएको हो । परियोजनाको वित्तीय प्रगति भने ७८.७ प्रतिशत रहेको छ ।
कात्तिकसम्म परियोजना तयार, पुसदेखि सञ्चालनमा
सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले आगामी पुस महिनाबाट मात्रै परियोजना सञ्चालनमा आउने बताए । ‘कात्तिक महिनासम्म परियोजनाको सबै काम सकिन्छ । ठेक्काको म्याद पनि त्यसवेलासम्मकै छ । परियोजना सञ्चालन गर्न अन्तर्राष्ट्रियस्तरको सर्भिस प्रोभाइडर कम्पनी ल्याउने तयारी छ । त्यसका लागि बिड डकुमेन्ट तयार हुँदै छ । त्यसलाई मन्त्रिपरिषद्बाट स्वीकृत गरेर प्रक्रिया अघि बढाउनुपर्छ,’ उनले भने, ‘त्यसो हुँदा कात्तिकमा काम सकिए पनि पुसदेखि मात्रै परियोजना सञ्चालनमा ल्याउन सकिन्छजस्तो छ ।’
सुरुङमार्गको टोल ट्याक्स तोकिँदै, तीन महिना निःशुल्क
सडक बोर्डले सुरुङमा गुड्ने सवारीसाधनका लागि टोल ट्याक्स मन्त्रिपरिषद्मा पेस गरिसकको छ । सोमबारको मन्त्रिपरिषद्ले सुरुङमार्गका लागि प्रस्ताव गरिएको टोल ट्याक्स पनि स्वीकृत गर्ने सम्भावना रहेको बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बताए । ‘यससम्बन्धी एजेन्डा दुई नम्बरमा परेको छ । आइतबार पनि मन्त्रिपरिषद्को कार्यालयमा यसबारे छलफल भएको थियो । सोमबारको मन्त्रिपरिषद्ले नागढुंगा सुरुङका लागि प्रस्ताव गरिएको शुल्क (टोल ट्याक्स) स्वीकृत गर्ने सम्भावना छ,’ उनले भने ।
सडक विभागले सुरुको तीन महिना सुरुङमार्गलाई ट्रायलका रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेको छ । अर्थात्, त्यो अवधिमा सुरुङमार्गबाट आवतजावत गर्न सवारीसाधनलाई पैसा लाग्नेछैन ।
५० रुपैयाँदेखि ५ सयसम्म टोल ट्याक्स प्रस्ताव
सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले काठमाडौंबाट भित्रिने र बाहिरिने सवारीसाधनलाई फरक–फरक टोल ट्याक्स प्रस्ताव गरेको बताए । त्यसमा पनि गाडीको प्रकृतिअनुसार फरक–फरक दर प्रस्ताव गरिएको उनको भनाइ छ ।
उनका अनुसार साना गाडी (कार, भ्यान, पिकअप, माइक्रो बसलगायत)लाई सुरुङबाट उपत्यका भित्रिँदा ७५ रुपैयाँ र बाहिरिँदा ५० रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । टिपर, मिनी बस र मिनी ट्रकलाई उपत्यका भित्रिँदा एक सय २५ रुपैयाँ र उपत्यकाबाट बहिरिँदा एक सय रुपैयाँ शुल्क लाग्ने प्रस्ताव गरिएको छ ।
यसैगरी बस र ट्रकलाई उपत्यका भित्रिँदा दुई सय ५० रुपैयाँ र बाहिरिँदा दुई सय रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । यसैगरी, लरी (हेभी सवारी)लाई उपत्यका भित्रिँदा पाँच सय रुपैयाँ र बाहिरिँदा तीन सय रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । मोटरसाइकलजस्ता दुईपांग्रे र तीनपांग्रे सवारीसाधनलाई भने सुरुङ प्रवेशमा निषेध गरिएको छ । यो दर दुई वर्षपछि पुनरावलोकन गरिने सडक बोर्डको भनाइ छ ।