
प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। अपराह्न साढे ५ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिलो गरी सुरु भएको थियो।
बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेपछि कार्यसूचीमा प्रवेशै नगरी सभामुखले बैठक स्थगित गरेका हुन्। अब प्रतिनिधिसभाको बैठक भोलि सोमबार दिउँसो २ बजे बस्नेछ।
यसअघि आजै १ बजेलाई तोकिएको बैठक सत्तापक्ष र विपक्षी दलहरूबिच सहमति नजुट्दा सवा ३ बजेलाई सारिएको थियो। सारिएको समयमा पनि बैठक बस्न नसकेपछि पुनः साढे ५ बजेलाई तोकियो। एक घण्टा ढिलो गरी सुरु भएको बैठक पनि फेरि स्थगित भएको हो।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकको राजीनामाका विषयमा सत्ता र प्रतिपक्षी दलहरूको आ–आफ्नै अडानका कारण प्रतिनिधिसभा बैठक लगातार अवरोध हुँदै आएको छ।