१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
२o८२ जेठ २५ आइतबार १o:१४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ महिनाअघि नै सकियो कालीगण्डकी करिडोर–बागलुङ खण्डको काम

बलेवा–हर्मिचौरको ४५ किमि सडक कालोपत्रे गर्ने कम्पनीलाई तीन पालिकाको सम्मान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार १o:१४:oo

तोकिएको समयमा अधिकांश योजना सम्पन्न नहुने र पटक–पटक म्याद थप्नुपर्ने वेलामा बागलुङमा भने तोकिएको समयभन्दा ६ महिनाअगावै काम सम्पन्न भएको छ । देशको गौरवको आयोजना रहेको कालीगण्डकी करिडोर बागलुङ खण्डको काम भने निर्माण कम्पनीले निर्धारित समयभन्दा ६ महिनाअगावै सम्पन्न गरेको छ । करिडोरको बागलुङ खण्डअन्तर्गतको बलेवा–हर्मिचौर खण्डको ४५ किमि सडक कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनले ६ महिनाअघि नै कालोपत्रे गरेको हो । 

निर्माण कम्पनीलाई सम्मान 
यसरी काम सम्पन्न गर्ने निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनलाई यस क्षेत्रका बागलुङ नगरपालिका र जैमिनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले शनिबार एक कार्यक्रम गरी सम्मान गरेका छन् । जैमिनीधाममा आयोजित कार्यक्रममा कम्पनीका व्यवस्थापक महेश सुवेदीलाई बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ र जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सम्मान गरे । समयमा काम सक्ने वातावरण बनाउने भूमिका खेल्ने कालीगण्डकी करिडोर आयोजना कार्यालयलाई पनि सम्मान गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माको भनाइ छ ।

निर्माण कम्पनी सबैले काम अलपत्र पारेका छैनन् भन्ने सन्देश बागलुङबाट दिएकाले सम्मान गरिएको शर्मा बताउँछन् । ‘पछिल्लो समयमा निर्माण व्यवसायी र कम्पनीले समयमा नै काम सम्पन्न गर्दैन भन्ने भास्य रहेको छ । धेरै योजनाहरू अलपत्र पनि परेका उदाहरण छन्,’ शर्माले भने, ‘तर, केही राम्रा निर्माण कम्पनीहरू पनि छन्, राम्रो गर्नेलाई सम्मान गर्ने र सकारात्मक सन्देश दिन सकेमा धेरै आयोजना समयमा सकिने हुँदा हामी तीन पालिका मिलेर सम्मान गरिएको हो ।’ उनले स्थानीय तहमा काम गर्ने वातावरण मिलाउने हो भने समयमा योजनाको काम सकिने रहेछ भन्ने यो उदाहरण पनि भएको बताए । बागलुङको बलेवा–गुल्मीको हर्मिचौर खण्डको ४५ किमि सडक तोकेको भन्दा ६ महिनाअघि सम्पन्न भएको आयोजना कार्यालय पाल्पाकी प्रमुख कल्पना अधिकारीले बताइन् । 

तीन अर्ब ३३ करोड लागत
आयोजना कार्यालयका अनुसार ०७९ साल मंसिर २६ गते यो सडकखण्डको ठेक्का लागेको थियो । तीन अर्ब ३३ करोडको लागतमा ०८२ मंसिर २५ मा सक्ने सम्झौता थियो । यो खण्डबाहेक हर्मिचौरदेखि रिडीसम्मको सडक अघिल्लो वर्ष नै कालोपत्रे भइसकेको छ ।