
तीन साताअघि रुसी नेता भ्लादिमिर पुटिनसँग दुई घण्टाको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा घोषणा गरे कि रुस र युक्रेनले युद्धविरामका लागि ‘तुरुन्तै वार्ता सुरु गर्नेछन्’ । यद्यपि, उनले प्रस्ट पारे कि दिगो शान्तिको प्रयत्न ‘दुई पक्षबिचको वार्ताबाट मात्र हुनेछ ।’ ट्रम्पका अनुसार भ्याटिकन सिटी ‘वार्ता आयोजना गर्न धेरै इच्छुक’ भएको र यसबारे युरोपेली नेतालाई विधिवत् जानकारी गराइएकाले अमेरिकाले युक्रेनमा युद्ध अन्त्यका लागि गर्र्दै आएको मध्यस्थता प्रयासलाई प्रभावकारी रूपमा त्यागेको छ ।
युक्रेन युद्धबाट ट्रम्प अलग्गिने सम्भावना सधैँ रहँदै आएको छ, यद्यपि यसअघि उनले युक्रेन युद्ध आफू राष्ट्रपति भएको २४ घण्टाभित्र अन्त्य गर्ने दाबी गरेका थिए । ट्रम्प युद्धबाट अलग्गिने सम्भावना त्यतिवेला बढ्योे, जतिवेला युक्रेन र रुसबिच तीन वर्षभन्दा बढी समयदेखि पहिलो प्रत्यक्ष वार्ता युद्धविराम सम्झौताविना नै समाप्त भयो । केही दिनअघि ट्रम्पले आफ्ना रुसी र युक्रेनी समकक्षीसँग टेलिफोन संवाद गरे । ट्रम्प र पुटिनको फोनवार्ताको केही समयअघि उपराष्ट्रपति जेडी भान्सले पत्रकारलाई स्पष्ट रूपमा भनेका थिए कि अमेरिकाले आफ्नो सूक्ष्म कूटनीति समाप्त गर्न सक्छ । यी सबै संकेतले पनि अमेरिका युक्रेन युद्धबाट बिस्तारै अलग हुन चाहेको देखिन्छ ।
रुस र युक्रेनबिचको वार्ताको नगण्य नतिजा (साथै ट्रम्प र पुटिनबिचको वार्ताको नगण्य परिणाम) आश्चर्यजनक छैन । दुई नेताबिच देखावटी रूपमा वार्ता त भएको छ, तर कुनै निष्कर्ष आउन सकेको छैन । रुस स्पष्ट रूपमा अझै पनि शान्ति स्थापनाका लागि तयार छैन । उसले युक्रेनलाई भविष्यमा तटस्थ रहनुपर्नेमा जोड दिँदै आएको छ । पुटिनले युक्रेनसँगको कुनै पनि वार्तालाई नियोजित रूपमा विलम्ब गरेका छन् । तथापि, उनले आफू वार्ताका लागि तयार रहेको पनि जनाउ दिएका छन् । ट्रम्पसँगको फोनवार्तापछि उनले भनेका छन् कि ‘रुसले युक्रेनसँग भविष्यमा सम्भावित शान्ति सम्झौताको ज्ञापन पत्रमा काम गर्न तयार छ,’ जसमा ‘यदि सान्दर्भिक सम्झौता भएमा निश्चित समयका लागि सम्भावित युद्धविराम’ गर्न सकिने उल्लेख छ ।
शान्ति कायम राख्ने ट्रम्प र पुटिनको संयुक्त आह्वानको अघिल्लो दिन क्रेमलिनको युद्ध जारी राख्ने क्षमता र तत्परतालाई जोड दिएको थियो । उसले युक्रेनमा भीषण हमला गर्यो । किभसहित धेरै क्षेत्रलाई लक्षित गर्दै रुसले युक्रेनविरुद्धको युद्धमा अहिलेसम्मको सबैभन्दा ठुलो ड्रोन आक्रमण गर्यो । त्यसवेलादेखि लडाइँमा कुनै कमी आएको छैन । दक्षिणी रुसी सहर सोचीमा रहेको संगीत विद्यालयको भ्रमण गर्दा पुटिनले व्यक्त गरेको अभिव्यक्ति युक्रेनमा युद्धविराम रुसी नेताको प्राथमिकताको सूचीमा छैन भन्ने संकेत गर्छ । क्रेमलिनको ठुलो हिस्सा अमेरिका र रुसबिचको सम्बन्धको पुनस्र्थापनामा ह्वाइट हाउससँग ठुलो सम्झौता गर्न इच्छुक जस्तो देखिन्छ । यसले स्पष्ट रूपमा संकेत गरिरहेको छ कि यो क्रेमलिनका लागि युक्रेनको युद्धले महत्वपूर्ण अर्थ राख्छ र त्यहाँ तत्काल लडाइँ समाप्त नहुने छनक देखिन्छ । यसले वासिंटनमा पनि सोचलाई प्रेरित गरिरहेको देखिन्छ । ट्रम्पले पुटिनसँगको आफ्नो कुराकानीको ‘स्वर र भावना’लाई ‘उत्कृष्ट’ भन्दै वर्णन गरेर द्विपक्षीय सम्बन्धमा सुधारको पूर्वानुमान गरे । उनी रुससँग ‘ठुलो स्तरको व्यापार’को सम्भावनाप्रति पनि खुसी देखिन्थे ।
ट्रम्पले आफू र पुटिन सँगै नभएसम्म युक्रेनमा शान्तिको दिशामा कुनै प्रगति नहुने बताएका छन् । तर, यो कुरा मनन गर्नु उचित छ कि फेब्रुअरीमा दुई राष्ट्रपतिबिचको अन्तिम टेलिफोन वार्तापछि युक्रेनमा युद्धविरामको दिशामा धेरै कम प्रगति (शान्ति सम्झौता त परको कुरा) भएको थियो । न्यून प्रगतिको अर्थ पुटिनमाथि कुनै वास्तविक दबाब दिन ट्रम्पको अनिच्छा पनि हुन सक्छ । ब्रसेल्समा सहमति र वासिंटनमा रुसविरुद्ध प्रतिबन्ध बढाउने तयारीका बाबजुद ट्रम्पले आफ्नो दृष्टिकोण परिवर्तन गर्ने सम्भावना कम छ ।
ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पुटिनसँग कुरा गर्नुअघि छोटो टेलिफोन वार्ता गरेका थिए । जेलेन्स्कीले ट्रम्पलाई आफ्नो उपस्थितिविना युक्रेनबारे निर्णय नगर्न भनेका थिए । तर, युद्धविराम स्वीकार गर्न पुटिनलाई स्पष्ट अल्टिमेटम दिनुको सट्टा ट्रम्पले युक्रेन युद्धबारे प्रमुख युरोपेली सहयोगीसँग संवाद गर्न थाले । युक्रेनको युद्ध समाधान गर्ने दायित्व युरोपेलीको मात्र हो भन्नुअघि उनले पुटिनसँग भविष्यको सम्बन्धबारे लामो छलफल गरे । यसले निश्चित रूपमा किभ र युरोपेली राजधानीमा अनिश्चितता पैदा गरेको छ । ट्रम्पको रबैयाले यो पनि देखाउँछ कि रुससँगको पुनर्मिलनका लागि अमेरिकाले एट्लान्टिकपारिका आफ्ना सहयोगीलाई पूर्ण रूपमा त्याग्न सक्छ ।
यद्यपि, यदि कुनै पनि मूल्यमा रुससँग पुनर्मिलन गर्नु वास्तवमा ट्रम्पको रणनीति हो भने यो असफल हुने निश्चित छ । पुटिन युक्रेनविरुद्धको आफ्नो आक्रामकता जारी राख्न जति इच्छुक देखिन्छन्, जेलेन्स्की पनि त्यति नै आत्मसमर्पण गर्न इच्छुक छैनन् । पुटिन चीनको निरन्तर समर्थनमा भर पर्न सक्छन् भने जेलेन्स्की युरोपबाट प्राप्त हुने सहयोग र समर्थनमा निर्भर हुन सक्छन् । अमेरिकासँगको प्रतिद्वन्द्वितामा मस्कोलाई साथमा राख्न चीनका लागि रुसी युद्धलाई समर्थन गर्नु आवश्यक छ । युरोपका लागि युक्रेनलाई समर्थन गर्ने र पूर्वी युरोपमा सोभियत शैलीको प्रभाव क्षेत्र पुनस्र्थापित गर्न लागि परेको संशोधनवादी रुसलाई रोक्नैपर्ने बाध्यता छ । ट्रम्प ह्वाइट हाउसमा फर्किएदेखि नै उतारचढावमा रहेको संसारमा यी केही चुनौती हुन् र तिनीहरूले अमेरिका–रुस पुनर्मिलनलाई निकै असम्भव बनाएका छन् ।
मस्को र किभबिचको मध्यस्थता त्यागेर ट्रम्पले रुससँग पुनस्र्थापना गर्ने आफ्नो प्रयासमा गतिरोध तोडेको हुन सक्छन् । तर, यो सम्झौतालाई सीमापार गर्नु एक विशाल विजय हुनेछ ।
–द कन्भर्सेसनबाट
स्टेफान वुल्फ युनिभर्सिटी अफ ब्रिमिङघामका प्राध्यापक हुन् ।