
सल्यानमा कालो बेसारको खेती सुरु भएको छ । औषधीय गुण हुने भएकाले पछिल्लो समय यहाँका किसानले कालो बेसारको खेती सुरु गरेका हुन् । कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गत अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले औपचारिक अनुसन्धानको प्राथमिकतामा समेत राखिसकेको छ । अनुसन्धान केन्द्रका प्रमुख डाक्टर घनश्याम भण्डारीले कालो बेसारको रासायनिक तथा औषधीय विशेषता पहिचान गर्न विश्लेषणलगायत अनुसन्धानको कामलाई प्राथमिकतामा राखिएको बताए ।
चालू आर्थिक वर्ष ०८१/८२ मा अनुसन्धानका लागि धेरै उत्पादन गर्न कालो बेसारको करिब ३० किलो बिउ रोपेको उनले जानकारी दिए । ‘कालो बेसारमा पाइने विभिन्न तत्वको मात्रा, गुणस्तर र अन्य परम्परागत पहेँलो बेसारसँगको तुलनात्मक भिन्नता पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ,’ उनले भने । अदुवा बाली अनुसन्धान कार्यक्रममार्फत विभिन्न क्षेत्रका किसानले कालो बेसारको खेती गरिरहेको जानकारी दिँदै बजारीकरणका लागि सोधीखोजी हुन थालेको कार्यालयले जनाएको छ ।
जिल्लाको कालीमाटी गाउँपालिका– ४ का किसान पुरुषोत्तम भट्टराईले गाउँमै औषधीय महत्वले भरिएको कालो बेसारको खेती गरिरहेको बताए । सामुदायिक वनमा समेत यसको खेती हुने गरेको थाहा पाएपछि निजी जमिनमा खेती सुरु गरिएको उनले जानकारी दिए ।
‘गत वर्ष थोरै क्षेत्रमा कालो बेसार लगाउँदा राम्रो फलेपछि यसपालि करिब दुई रोपनी जमिनमा खेती गरेको छु,’ उनले भने । कालो बेसारको औषधीय गुण र बजार मूल्यका कारण धेरै कृषक आकर्षित हुन थालेका छन् । जिल्लाको बागचौरलगायतका क्षेत्रमा समेत कालो बेसारको खेती हुन थालेको छ । काँचो कालो बेसारको मूल्य पाँच सयदेखि एक हजार रुपैयाँ प्रतिकिलोसम्म रहेको व्यवसायीले जानकारी दिएका छन् ।