Skip This
काभ्रेका ६ सय शिक्षकलाई ‘प्रशिक्षक-शिक्षक’ बनाउँदै ट्राफिक प्रहरी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२o८२ जेठ १६ शुक्रबार १४:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेका ६ सय शिक्षकलाई ‘प्रशिक्षक-शिक्षक’ बनाउँदै ट्राफिक प्रहरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १४:२३:oo

ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक नियम सचेतनाका लागि विद्यालयका ६०६ शिक्षकलाई ‘प्रशिक्षक–शिक्षक’ तयार गर्ने भएको छ । यसका लागि कार्यालयले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयका शिक्षकलाई दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनाका कक्षा सञ्चालन गर्ने योजना बनाएको हो । 

कार्यालयले स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिको समन्वयमा सम्पूर्ण विद्यालयका बालबालिकालाई ट्राफिक सचेतनासहितका कक्षा सञ्चालन गर्ने गरी विद्यालयमा प्रशिक्षक–शिक्षक तयार गर्न लागिएको जनाएको छ। 

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूले जिल्लाका ५०८ सामुदायिक, ९६ संस्थागत र दुई धार्मिक विद्यालयका ६०६ जना शिक्षकहरूलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षक–शिक्षक तयार गरिने योजना बनाइएको बताए। उनका अनुसार विद्यालयमा तयार गरिने शिक्षकले सोही विद्यालयमा कार्यरत अन्य शिक्षक तथा कर्मचारी र अध्ययनरत विद्यार्थीका लागि ट्राफिक नियम तथा सचेतनाबारे तालिका बनाई कक्षा सञ्चालन गर्नेछन्। 

यस्तै, कार्यालयले विद्यालयका बसमा ‘स्कुल बस निर्देशिका– २०७४’ अनुसार सञ्चालन गरे–नगरेको अनुगमन गर्ने, निर्देशिकाअनुसार सञ्चालन नभएको पाइए चालकलाई कारबाही गर्ने, सार्वजनिक यातायातमा तोकिएका वर्गलाई छुट र आरक्षण शुल्क कार्यान्वयनबारे अनुगमन गर्ने, प्रेसर हर्न न्यूनीकरण तथा चालक र सहचालकलाई अनुशिक्षण, यान्त्रिक साधनको परीक्षण गरी प्रदूषण नियन्त्रणका लागि सक्रियता बढाउने जनाएको छ। 
    
कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा रु. एक करोड सात लाख ६७ हजार पाँच सय राजस्व संकलन गरेको जनाएको छ। यस अवधिमा १३ हजार ७४५ सवारीसाधन कारबाहीमा परेका छन् । काभ्रेपलाञ्चोकमा कुल ८५८ किलोमिटर सडकमध्ये १३२ किलाेमिटर पक्की सडक, ५०४ किलाेमिटर कच्ची र १२८ किलाेमिटर ग्राभेल सडकमा सवारीसाधन गुडिरहेका छन् ।