Skip This
गणतन्त्र संस्थागत गर्दै समृद्धिको मार्गमा लैजानु आजको आवश्यकता : प्रदेश प्रमुख देवकोटा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Friday, 30 May, 2025
२o८२ जेठ १५ बिहीबार o९:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गणतन्त्र संस्थागत गर्दै समृद्धिको मार्गमा लैजानु आजको आवश्यकता : प्रदेश प्रमुख देवकोटा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार o९:o७:oo

गणतन्त्र दिवस २०८२ को शुभकामना व्यक्त गर्दै बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् । उनले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासको एक महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसले जनतालाई सार्वभौमसम्पन्न बनाउँदै राष्ट्रनिर्माणको मूल प्रवाहमा समाहित गरेको बताएका छन् ।

शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख देवकोटाले गणतन्त्र स्थापनाका लागि प्राणको आहुती दिने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनआन्दोलन ०६२/६३ को सफलतासँगै मुलुकमा स्थापना भएको गणतन्त्र नेपाली जनताको संघर्ष, बलिदान र अथक प्रयासको परिणाम भएको उल्लेख गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासको एक महत्त्वपूर्ण उपलब्धि हो । जसले जनतालाई सार्वभौमसम्पन्न बनाउँदै राष्ट्रनिर्माणको मूल प्रवाहमा समाहित गरेको छ,’  शुभकामना सन्देशमा भनिएको छ ।

प्रदेश प्रमुख देवकोटाले गणतन्त्र, राष्ट्रियता र जनजीविकाको सवालमा सबै राजनीतिक दल र नागरिक समाज एकताबद्ध भई सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट सुशासन र समृद्धि सम्भव हुने भन्दै व्यवस्थागत परिवर्तनभन्दा अवस्थागत परिवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

‘आजको युवापुस्तालाई आन्दोलन होइन, विकास र समृद्धिको बाटोमा अघि बढाउनुपर्छ,’ उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्, ‘गणतन्त्रको मूल मर्म जनताको सर्वोच्चता, समावेशिता, समानता, विधिको शासन, सामाजिक न्याय र उत्तरदायित्वमा आधारित शासन प्रणाली हो भन्ने कुराको स्मरण आवश्यक छ ।’

प्रदेश प्रमुख देवकोटाले युवामा बढ्दो निराशा अप्रिय भएको भन्दै कमी–कमजोरी सच्याएर देशलाई द्रुत विकासको लयमा अघि बढाउनुपर्ने भन्दै सहिदहरूको सहादत, घाइतेहरूको आहत र पीडित परिवारप्रति उपेक्षा गर्नु अक्षम्य हुने भन्दै परिणाममुखी कार्यले मात्र विश्वास जित्न सकिने धारणा राखेका छन् । सन्देशमार्फत प्रदेश प्रमुख देवकोटाले गणतन्त्र दिवसजस्ता विशेष दिनहरूले लोकतान्त्रिक गणतन्त्रका हिमायती जनतालाई अस्थिरता र पश्चगमनका विरुद्ध एकजुट हुन प्रेरित गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।