
काठमाडौंको नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरेका हुन् ।
शनिबार (जेठ १७) देखि आगामी असार २४ गतेसम्म केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने भएको हो ।
यो आदेश जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिस र मिति २०८२/०१/२४ को सूचनाका आधारमा जारी गरिएको हो।
जिल्ला प्रशासनले शान्ति सुरक्षा कायम राख्न यो कदम चालिएको जनाएको छ। आदेश उल्लङ्घन गरेमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ।