
म जरामा कुनै पनि टुक्रा जोड्ने चेष्टा गर्दिनँ, जे बनेको छ, एउटा जराबाट मात्रै बनेको छ
मैले काठका टुक्रामा दृष्टि र कला देख्न थालेको करिब ५० वर्ष भयो । यो दौरान निर्जीव जराका मूर्ति सजीव बनेका छन् । ५० वर्षे कलासाधनामा अनगिन्ती सिर्जना भए । ०३२ सालतिरको कुरा हो । मोरङ (विराटनगर) मा हुँदा म प्याराटाइफाइटले थलिएँ । त्यसवेला घरको भित्ताका चिरा नियालेर हेर्थेँ । चिरा परेका भित्तामा आकृति देखेँ । शरीर गलेको थियो । मन एकोहोरिएको थियो । घरका चिरा परेका भित्तामा अनेक आकृति देख्न थालेँ र एकोहोरिन थालेँ । सायद त्यसैले मलाई कल्पनाशील बनाउँदै लग्यो । त्यही कल्पनाशीलता साहित्य र कलामा अनुराग बन्यो जस्तो लाग्छ । त्यसैले मलाई चित्र बनाउन प्रेरित गर्यो ।
त्यसैवेला घरको आँगन छरिएका दाउरामा मेरो आँखा पर्यो । बेलुका चुलोमा बाल्न ठिक्क पारेको एउटा दाउरोमा आकृति देखेँ । त्यसले मेरो ध्यान तानिरह्यो । मेरा लागि आकृति स्पष्ट हुँदै गयो । मेरो अन्तरचेनताले देखेको आकृति काठको टुक्रालाई खुर्किन थालेँ । केही दिनमै त्यो दाउराले आकृति लियो । जुन आकृति एउटा हात र एउटा खुट्टा नभए पनि हिँड्न प्रयास गरिरहेको व्यक्तिमा परिणत भयो । एउटा काठको टुक्रा संघर्षरत व्यक्तिमा परिवर्तन भयो । यो नै मेरो पहिलो कला थियो ।
०३२ मा धरानको मोतीस्मृति भवनमा ‘संघर्षमय व्यक्तित्व नामक कला प्रदर्शनी’ उक्त कलामा राखेँ । प्रदर्शनीमा अरू पेन्टिङ पनि राखेँ । धरानको तत्कालीन ब्रिटिस क्याम्पका प्रमुखले उक्त कलालाई १० हजारमा किन्न खोजे । तर, बेच्न मन लागेन । त्यसवेला काठमाडौंमा १० हजारमा दुई–चार रोपनी जग्गा आउँथ्यो । आफूले बनाएको पहिलो कला बेच्न मन लागेन । त्यहाँ उक्त कला बेचेको भए अरू सिर्जना जन्मदैन थिए होलान् । मैले आजसम्म पनि कुनै सिर्जना बेचेको छैन । म व्यवसायका लागि कलाकारिता गर्दिनँ ।
जरामा जीवन र आकृति
पछिपछि घरायसी प्रयोगमा ल्याएका सबै दाउरामा बेग्लबेग्लै आकृति देख्न थालेँ । रुखको जरा र हाँगा देख्नेबित्तिकैमा त्यसमा घोत्लिन थालेँ । नयाँ–नयाँ आकृतिको खोज मेरो लत बन्न पुग्यो । बाढीले बगाएर ल्याएको जरामा समेत कला खोज्न थालेँ । बाल्न ल्याएको दाउरा मागेर पनि कला सिर्जना गरेको छु ।
रुखका जरा, बांगाटिंगा हाँगा कतै फालेको भेटे संकलन गर्न थालेँ । घर ल्याएर त्यसैमा खेल्न थालेँ । मन खोजेको आकृति नबनुन्जेल घोत्लिन थालेँ । जरामा धार्मिक, सांस्कृतिक मिथक तथा प्रकृति र पर्यावरणका दृश्यहरू सिर्जना गर्थें ।
मेरो सिर्जनामा राजनीति, इतिहास, वैदेशिक मामलका पात्रा र घटना भेटिन्थेँ । ज्ञान र विज्ञान साथै मानवीय संवेदना र भावनासमेत त्यसमा पोखिएको पाउँथेँ । भूगोल, खगोल र जलसागरसम्म खोप्न मन लाग्न थाल्यो । जगत्मा प्राणीका व्यवहार पनि काठेकलामा अंकित हुन थाल्यो ।
मैले रुखका जराबाट मात्रै होइन, ठुटाबाट पनि आकृति उतारेको छु । रुखको जारा खोज्न खोलाको बगरबगर डुलेको छु । दूरदराजमा रहेका गाउँ पुगेको छु । मेरा कृति देख्नेले कतै रुखको जरा भेटेँ भने सम्झेर अहिले पनि ल्याइदिन्छन् ।
प्रकृतिसँगको सहकार्य
मेरा कृतिहरू केवल एक आकृति, आवेग र भावनाका उपज होइनन् । मेरो आधिकांश कलामा कथा बोल्छन् । कतै पराम्परागत मान्यतालाई उल्ट्याएर हेर्न खोजिएको छ । म सानैदेखि विद्रोही सोचको थिएँ । हेपिएका, फ्याँकिएका उपेक्षित भएका, बेवास्ता गरिएका, कुल्चिएका विषय र पात्र पहिलेदेखि मेरो रुचिका क्षेत्र हुन् । मेरा आकृतिमा धार्मिक, सांस्कृति मिथक भेटिन्छ । पर्यावरणको दृश्य भेटिन्छ ।
नेपाल बन्दका दिन केही वर्षअघि साइकल लिएर सिंहदरबार गएको थिएँ । पर्यटन तथा संस्कृति मत्रालयमा काम थियो । मत्रालयको काम सकेर बाहिर निस्कँदै थिएँ । छेउमै कच्याककुचुक्क परेको काठ देखेँ । उक्त काठमा आकृति देखेँ । त्यसलाई टिपेर घर ल्याएँ र महिनौँ घोत्लिएपछि त्यसमा रावणले पुष्पक विमानमा चढाएर सीतालाई हरण गरेको दृश्य बन्यो ।
त्यसवेला नै प्रज्ञा प्रष्ठिानमा बाल सुलभ मुद्राका गणेश फेला पारेँ । चोसो निस्किएको माटोले पोतिएको काठ फेला पर्यो । त्यसलाई पनि घर ल्याएँ । केही दिन घोत्लिएपछि शान्त मुद्राको गणेशको आकृति बन्यो ।
मेरा कलामा रामायण, महाभारत र पुराणका कथामा समेटिएका छन् । एउटै कलामा महाभारत अटाएको छु । विष्णुको वराह अवतार, मत्स्यकन्याको अवतार ढालेको छु ।
मानिसमा मात्रै सीमित गरेर कला सिर्जना गरेको छैन । मानिसको प्रत्यक्ष र परोक्ष सम्बन्धको प्राकृतिक सिर्जना गरेको छु । अस्ट्रेलिया पुग्दा कंगारुले छातीमा बच्चा टाँसेको देखेको दृश्य जरामा उतारेको छु ।
अहिले पनि फुर्सदमा काठमाडौंआसपासका रानीवन, नागार्जुनको वनतिर डुल्छु । विशेषगरी रुखका जरा र हाँगा मेरा लागि कच्चा पदार्थ हुन् । आकृति निर्माणका लागि हाँगा बांगाटिंगा हुनुपर्छ । त्यसैमा कला निस्कन्छ । कच्याककुचुक्क भएको हुनुपर्छ । नत्र, आकृति सिर्जनात्मक हुँदैनन् । प्रकृति मेरो सहकार्यको विषय हो ।
प्रकृति र मेरो सम्बन्ध
मेरो प्रकृतिसँग केवल भावनात्मक नाता मात्रै होइन, सार्थक नाता गाँस्न मन लाग्छ । यिनै मूल्य–मान्यता मेरो जीवनका आदर्श हुन् । मेरो कला र स्वार्थका कारण हरिया, जिउँदा रुखमा हतियार चलाइनँ, चलाउँदिनँ पनि । बरू फ्याँकिएका, बगर छेउमा लम्पसार परेका काठका ठुटा, लेउ लागेका जरालाई उठाएर ल्याउँछु । तिनीहरूभित्र जीवन खोज्छु ।
हाम्रो मूलधारको जीवनपद्धतिभित्र एउटा हैसियतसहित रहन पाउनु तिनको हक हो । पर्यावरणीय चक्रभित्र स्वायत्त रूपमा रहन पाउनु तिनको अधिकार हो भन्ने मेरो मान्यता छ । सबैले यही ठान्नुपर्छ भन्ने छैन । तर, मेरो विचार, आदर्श र मूल्य–मान्यता कला र जीवनमा उतार्न कोसिस गरिरहेको हुन्छु ।
म जरामा कुनै पनि टुक्रा जोड्ने चेष्टा गर्दिनँ । जे बनेको छ, एउटा जराबाट मात्रै कला बनेको छ । कलाकर्ममा प्रकृतिको उत्तिकै योगदान छ । त्यसैले, मैले भन्ने गरेको छु, मेरो कर्म प्रकृतिसँगको सहकार्य हो । यसमा कुनै महँगो र अत्याधुनिक विदेशी प्रविधि र उपकरण प्रयोग गरेको छैन । घरायसी उपयोगका सामग्रीबाट यस्ता कलाकृति रचना गर्ने गर्छु ।
जरा अर्थात् रुखको आधारस्तम्भ मेरो सिर्जनाको मुख्य माध्यम हो । यिनै जरामा मेरो मनवीय मूल्य–मान्यता आदर्श मानेर कला पस्कने गरेको छु । मेरो कृतिको दोस्रो प्रति हुँदैन । बनाउन पनि चाहन्नँ, जे बनाउँछु एकप्रति बनाउँछु । एक ठाउँमा मात्रै कुँद्छु । प्रकृतिसँग मेरो गहिरो सम्बन्ध छ । जरामा र हाँगामा मानवीय संवेदना देख्छु । रुखको हाँगोमा पनि कला देखिन्छ । केबल रुखको जरामा कला मात्रै हुँदैन, त्यसमा सौन्दर्य पनि देखिन्छ, जीवन्त देखिन्छ । मैले काठेकला सुरु गर्दा माटो र ढुंगाबाट मात्रै मूर्ति बनाइन्छ भन्ने धारणा थियो ।
वर्षौंसम्म एउटा जरामा घोत्लिँदा
मैले एउटै कलामा वर्षाैं लगाएर पनि काम गरेको छु । १२ वर्ष लगाएर जरामा कला उतारेको छु । मिहिनेतसँगै कला देख्न समय लाग्छ । घरमा जरा ल्याएर राखेपछि दैनिक नियाल्छु । त्यसरी भाव खोज्न थाल्छु । त्यसका लागि समय लाग्छ ।