१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नवराज मैनाली काठमाडाैं
Invalid date format o६:२२:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भ्रष्टाचारका फैसला कार्यान्वयनमा विलम्ब : एक दशकपछि खाताको नगद र लकरको सुन जफत, सेयर पनि जफतको तयारी

दुई महिनाअघि जफत गरिएका घरजग्गा अझै खाली गराउन सकिएन

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२२:oo

भ्रष्टाचार मुद्दामा सर्वाेच्च अदालतले दोषी ठहर गरेको करिब एक दशकपछि पूर्वमन्त्री र पूर्वकर्मचारीहरूको बैंक खातामा रहेको नगद र लकरको सुन जफत भएको छ । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले पाँचजनाको बैंक खाताबाट करिब ६५ लाख रुपैयाँ नगद जफत गरेको हो । 

बैंकको लकरमा रहेको सुन र विभिन्न कम्पनीमा रहेको सेयर पनि जफत गर्ने अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । पूर्वगृहमन्त्री खुमबहादुर खड्का, पूर्वसहसचिव आनन्दप्रसाद खनाल, नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी, मेची भन्सार कार्यालयका पूर्वप्रमुख केशरजंग खड्का र भन्सारका पूर्वनायबसुब्बा केदारनाथ ढुंगाना तथा उनीहरूको परिवारको नाममा बैंक खातामा रहेको नगद अदालतको फैसलाअनुसार जफत गरिएको विभागका महानिर्देशक सुरेश पन्थीले बताए । ‘मुद्दा दायर भएको वेलादेखि बढे–बढाएको रकमसमेत खोजी गरी जफत गरिएको छ,’ उनले भने, ‘थप फैसला अध्ययन गरी कार्यान्वयनको कामलाई तीव्रता दिएका छौँ ।’ 

पूर्वगृहमन्त्री खड्काकी पत्नी सीतादेवी खड्काको युनाइटेड फाइनान्समा रहेको सात लाख ५२ हजार १३७ रुपैयाँ विभागले जफत गरेर आफ्नो खातामा ल्याएको छ । ३० साउन ०६९ मा सर्वाेच्च अदालतले खड्कालाई दोषी ठहर गरेको थियो । तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र बैजनाथ उपाध्यायको इजलासले उनको सानेपास्थित डेढ रोपनी जग्गा र अर्काे जग्गाबाट २० लाख ५६ हजार ९८७ रुपैयाँबराबरको जग्गाको भागहिस्सा तथा बैंक खाताको केही निक्षेप जफत गर्ने फैसला गरेको थियो । जग्गा भने अझै जफत भइसकेको छैन । 

२० लाख ५६ हजार भने खुमबहादुरको परिवारले हालै बैंक खातामा दाखिला गरेको विभागले जनाएको छ । सर्वाेच्चको फैसलामा २० लाख ५६ हजारबराबरको जग्गा जफत गर्न भनेकोमा हालै सरकारले पैसा दिएर जग्गा राख्न पाउने गरी कानुन संशोधन गरेपछि उनीहरूले पैसा जम्मा गरेका हुन् । 

त्यस्तै, सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको १४ लाख ९९८ रुपैयाँ नगद जफत भएको छ । उनको बैंक खातामा नाममा रहेको आठ लाख ७५ हजार ६० रुपैयाँ र परिवारका सदस्यको नाममा रहेको पाँच लाख २५ हजार जफत भएको हो । 

खनालको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा एक लाख ७८ हजार, नेपाल बैंकका धरान शाखामा तीन लाख १० हजार, वाणिज्य बैंकको टंगाल शाखामा रहेको दुई लाख, नेपाल बैंकको केन्द्रीय कार्यालयमा रहेको ५७ हजार, वाणिज्य बैंकको धरान शाखामा रहेको खातामा रहेको खाताबाट ८६ हजार तथा नेपाल बैंकको सिटी अफिसमा रहेको खाताबाट ४१ हजार ९९ हजार जफत भएको छ । 

उनको परिवारका सदस्यहरू पद्मा खनाल, अमित खनाल र आभाष खनालको नाममा रहेको खाताको नगद पनि सरकारको नाममा लगिएको छ । पद्माको नाममा रहेको पाँच लाख २५ हजार नौ सय ३८, अमितको नाममा रहेको एक लाख ७२ हजार पाँच सय ५३ तथा आभाषको नाममा रहेको दुई लाख ९६ हजार पाँच सय २५ रूपैयाँ जफत गरिएको विभागले जनाएको छ । 

सर्वाेच्च अदालतले १२ भदौ ०६९ मा खनाललाई दोषी ठहर गरी एक वर्ष तीन महिना कैद, एक करोड २१ लाख ५२ हजार ४४ रूपैयाँ जरिवाना र स्रोत नखुलेको उनको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । उनको भक्तपुरस्थित ६५ आना जग्गा दुई वर्षअघि नै जफत भइसकेको छ । साथै, बैंक लकरमा रहेको मूल्याङकनको समयअनुसारको २ लाख ४२ हजार सात सय ८६ हजार रूपैयाँ बराबरको सुन पनि जफत प्रक्रिया विभागले अघि बढाएको छ । सर्वाेच्चको फैसलाअनुसार उनले लामा कन्ट्रक्सनलाई दिएको ३२ लाख ऋण सापटी समेत जफत हुने छ । 

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको १२ लाख ५४ हजार ९८ रूपैयाँ जफत गरिएको विभागका महानिर्देशक पन्थीले बताए । उनको परिवारका सदस्यहरू आशा चतुर्वेदी, अदिती चतुर्वेदी र अभिषेक चतुर्वेदीको बैंक खातामो पैसा समेत जफत भएको हो । 

उनलाई सर्वाेच्च अदाललते २१ भदौ ०६८ मै दोषी ठहर गरी खाताको नगद तथा जग्गा जफतको फैसला सुनाएको थियो । उनको पेप्सीकोलामा रहेको साढे २१ आना जग्गा भने हालै मात्र गृह मन्त्रालयले जफतको निर्णय गरेपनि खाली गराउन भने सकेको छैन । सो जग्गामा हाल फुटसल चलिरहेको छ । 

मेची भन्सारका पूर्वप्रमुख केशेरजंग खड्काका विभिन्न २१ वटा खातामा रहेको रकम जफत भएको छ । उनको ती खातामा २४ लाख ११ हजार आठ सय ९६ रूपैयाँ बचत भेटिएको छ । १३ असार २०६९ मा सर्वाेच्चले उनको अकुत मुद्दामा फैसला सुनाउँदै बैंकको नगद मौज्जाद र जग्गा जफतको फैसला सुनाएको थियो । कोटेश्वरस्थित उनको दुई रोपनी तीन आना जग्गा भने हालै जफत भएको छ । 

भन्सारका पूर्वनासु केदारनाथ ढुंगानाका ८ लाख ५२ हजार एक सय नौ रूपैयाँ जफत भएको छ । ढुंगानाको हिमालयन बैंकमा रहेको तीन लाख ३२ हजार पाँच सय ८६, र नेपाल बंगलादेश बैंकमा रहेको दुई लाख ४३ हजार पाँच सय ७६ जफत भएको छ । त्यस्तै परिवारका सदस्यको नाममा नेपाल बंगलादेश बैंकमा रहेको तीन लाख ८६ हजार जफत भएको छ । सर्वाेच्च्चले २२ जेठ २०७४ मा उनलाई दोषी ठहर गरी बैंक खातामा रहेको नगद र जग्गा जफत गर्न भनेको थियाो । उनको ललितपुरस्थित दुई रोपनी सात आना जग्गा भने जफत भइसकेको छ । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २० वर्षअघि मुद्दा दायर गरेसँगै उनीहरूको बैंक खाता रोक्का थियो । त्यसयता बढे बढाएको रकम समेत जफत भएको हो । 

कसुरजन्य सम्पत्ति तथा साधन(रोक्का, नियन्त्रण र जफत) ऐन २०७० अनुसार फैसला कार्यान्वायन गरिएको हो । सो ऐनअनुसार जग्गा जफतका लागि गृह मन्त्रालयकै निर्णय गर्नुपर्ने हुन्छ भने नगद तथा सुन जफत विभागका महानिर्देशकले नै निर्णय गरेर जफत गर्न सक्छन् । विभाग स्थापना भएको चार वर्ष हुँदा पनि यससम्बन्धि निर्णय भएका थिएनन् । हालै, देश सम्पत्ति शुद्धीकरणसम्बनिध कानून कार्यान्वायनमा फितलो हुँदा ग्रे लिष्टमा परेपछि बल्ल फैसला कार्यान्वायनमा सक्रियता बढेको छ । 

शेयर पनि जफतको तयारी 
सर्वाेच्च अदालतको फैसलाअनुसार कसुरदारहरूको विभिन्न कम्पनीमा रहेको शेयर पनि जफतको प्रक्रिया विभागले अघि बढाएको छ । रामाज्ञाप्रसाद चतुर्वेदीको नेपाल मेडिकल कलेजमा ३० हजार कित्ता र शिखर पेन्ट्समा पाँच हजार कित्ता तथा छोरा अभिशेक चतुर्वेदीको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा रहेको ३० हजार कित्ता शेयर जफतको प्रक्रिया अघि बढाइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले बताए । 

पूर्वसहसचिव आनन्दप्रसाद खनालका छोराहरूको नाममा डाउन डेभलपर्स नाकक कम्पनीमा रहेको ५१ हजार कित्ता शेयर पनि जफतको प्रक्रिया अघि बढेको छ । केदारनाथ ढुंगानाको नेपाल इन्भेष्टमेन्ट बै.क, एभरेष्ट बैंक, नेपाल आवास तथा विकास कम्पनी तथा सरस्वती ढुंगानाको नाममा सिद्धार्थ एपोलो अस्पतालको पाँच सय कित्ता जफत हुने भएको छ । ‘शेयर जफतका लागि कम्पनी रजिष्ट्रारको कार्यालयसँग विवरण लिएर प्रक्रिया अघि बढाएका छौ, ’ महानिर्देशक पन्थीले भने,‘यस्तो शेयर हाम्रो नाममा आइसकेपछि बिक्रि गरेर नगद नै जम्मा गर्छाै ।’