१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नगर अस्पताल कटारी प्रादेशिक अस्पतालमा रूपान्तरण, स्थानीय खुसी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४२:oo

उदयपुरको कटारी नगरपालिकामातहत रहेको १५ शय्याको कटारी अस्पताल प्रादेशिक अस्पतालमा रूपान्तरण भएको छ । केही दिनअघि नगर अस्पताल ५० शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पतालमा रूपान्तरण भएको हो । कोशी प्रदेशका भौतिक योजना एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले प्रादेशिक अस्पतालको उद्घाटन गरेका थिए । 

अब कटारी अस्पताल कोशी प्रदेश सरकारमातहत सञ्चालन हुनेछ । कटारी अस्पतालका प्रमुख मेडिकल सुुपरिटेन्डेन्ट डा. गौरव साहले अस्पतालमा अब थप सेवा–सुविधा बढ्ने बताए । ‘सरकारी मापदण्डअनुसार कटारी अस्पतालमा १५ शय्याको अस्पतालमा हुने सेवा–सुविधा मात्र थियो । अब ५० शय्याको अस्पतालले दिने सेवा–सुविधा पाइनेछ,’ उनले भने । साहका अनुसार हाल अस्पतालले एमडिजिपी सेवा, जर्नल सर्जरी सेवा, परिवार नियोजन, प्याथोलोजीलगायत सेवा दिँदै आएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाका अनुसार अब ५० शय्याको प्रदेशिक अस्पताल हुँदा आधारभूत स्वास्थ्य सेवा, जनरल फिजिसियन सेवा, जनरल शल्यक्रिया, स्त्री तथा प्रसूति, बालरोग तथा शिशु सेवा, दन्त चिकित्सक सेवा, हाडजोर्नी तथा नसा सेवा, सामान्य आँखा उपचार सेवा, फिजियोथेरापी सेवा, एनेस्थेसियोलोजी, रेडियोलोजिस्ट, गुणस्तरीय ल्याबलगायत सेवा सम्बन्धित विशेषज्ञ चिकित्सकबाट पाइनेछ । ‘जिल्ला अस्पताल गाईघाटसँगै उदयपुरमा प्रादेशिक अस्पताल दुईवटा हुनेछन् । प्रादेशिक अस्पताल भएपछि उपचार सेवा विस्तार हुन्छ । त्यस भेगका मान्छेले उपचार गर्न बाहिर जानुपर्दैन । कटारी प्रादेशिक अस्पताल हुनु खुसीको कुरा हो,’ उनले भने ।

कटारी अस्पतालको अहिले पुरानो र हालको नयाँ गरी दुईवटा भवनबाट नगरपालिकाले आन्तरिक रूपमा ४५ शय्या सञ्चालन गर्दै आएको थियो । आगामी आर्थिक वर्षबाट प्रदेश सरकारले नयाँ भवन बनाउने र सेवा–सुविधा विस्तार हुने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्रसिंह तामाङले बताए । ‘कटारी अस्पतालको नाममा हाल १४ कट्ठा जग्गा छ । अब त्यसैमा एक बिघा नौ कट्ठा थपिँदै छ । जग्गा प्रशस्त भएकाले नयाँ भवन बनाएर अस्पताल विस्तार हुनेछ । आगामी आर्थिक वर्षबाट कटारी अस्पतालबाट प्रादेशिक अस्पतालको सेवा पाइनेछ,’ उनले भने । कटारी अस्पतालले दैनिक तीन सय बिरामीलाई सेवा दिँदै आएको जनाएको छ ।