
कस्मिर द्वन्द्वमा पहिलोपटक भारतले पाकिस्तानको मुटु मानिने पन्जाबमा हमला गरेको हुनाले हालको तनाव गम्भीर छ
भारतले पाकिस्तान र पाकिस्तान–नियन्त्रित कस्मिरमा सैन्य आक्रमण गर्दा कम्तीमा ३१ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको रिपोर्ट आएको छ । भारतले ती आक्रमण आतंकवादी संरचनामा गरिएको दाबी गरे पनि पाकिस्तानले त्यसको खण्डन गर्दै सर्वसाधारणमाथि आक्रमण भएको बताएको छ । सोही अवधिमा पाकिस्तानतर्फबाट गरिएको गोलाबारीका कारण भारतनियन्त्रित कस्मिरमा थप १० जनाको मृत्यु भएको दाबी गरिएको छ ।
यो घटनाक्रम दुई साताअघि कस्मिरमा भएको एक आतंककारी आक्रमणपछि भएको हो, जहाँ २६ जनाको ज्यान गएको थियो । ‘द रेसिस्टेन्स फ्रन्ट (टिआरएफ)’ नामक समूहले सो आक्रमणको जिम्मा लिएको थियो । भारतको दाबीअनुसार यो समूह पाकिस्तानमा आधारित आतंकवादी समूह लस्कर–ए–तोइबाकै एक छद्म शाखा हो । भारतले पाकिस्तानले सो आतंकवादी आक्रमणमा परोक्ष समर्थन गरेको आरोप लगाएको छ, तर पाकिस्तानले त्यसलाई कडा रूपमा खण्डन गरेको छ । विश्वका दुई ठुला सैन्य शक्तिबिच बढ्दो तनावले एसियालगायत सम्पूर्ण विश्वलाई अस्थिर बनाउने सम्भावना राख्छ । हालैमा बेलायत, फ्रान्स र रुसलगायत थुप्रै देशले यो विषयमा चिन्ता व्यक्त गरेका छन् ।
भारत–पाकिस्तान सैन्य क्षमता : मिलिटरी वाचका अनुसार भारत विश्वका शीर्ष पाँच सैन्य शक्तिमध्ये एक हो भने पाकिस्तान नवौँ स्थानमा छ । दुवै देशसँग आणविक हतियार छन् । भारतको सैन्य शक्ति ठुलो र आधुनिक छ, जबकि पाकिस्तानको सेना सानो, चुस्त र मूलतः रक्षात्मक तथा खुफिया कारबाहीमा पोख्त छ । दुवै देशले हालसम्म युद्धमा आणविक हतियार प्रयोग गरेका छैनन् । तर, त्यसको सम्भावनाले सधैँ चिन्ता पैदा गरिरहन्छ । भारतसँग झन्डै एक सय ८० र पाकिस्तानसँग करिब एक सय ७० आणविक अस्त्र छन् । भारतले ‘(आणविक हतियार) पहिले प्रयोग नगर्ने’ नीति अपनाएको भए पनि सन् २०१९ यता यस नीतिबारे पुनर्विचार गरिरहेको संकेत देखिएको छ । पाकिस्तानले कहिल्यै यस्तो नीति घोषणा गरेको छैन र भारतको परम्परागत सैन्य शक्तिलाई सन्तुलनमा राख्न रणनीतिक आणविक हतियार आवश्यक भएको जनाउँछ । विभिन्न विशेषज्ञका अनुसार यदि सानो स्तरमा पनि आणविक युद्ध भयो भने केही दिनमै दुई करोड मानिसको ज्यान जान्छ ।
कस्मिरका लागि भइरहेको भिडन्त : कस्मिर भारत र पाकिस्तानले सन् १९४७ मा स्वतन्त्रता पाउनुअघिदेखि नै विवादको कारण रहँदै आएको छ । मुसलमानबहुल कस्मिर दुवै देशमध्ये जहाँसुकै गाभिन सक्ने स्थिति थियो । तर, त्यसवेला शासक महाराजा हरि सिंह सुरुमा स्वतन्त्र रहन चाहे पनि पछि भारतको पक्षमा गए, जसले सन् १९४७ मै द्वन्द्व सुरु गर्यो । सन् १९४९ मा राष्ट्र संघको मध्यस्थतामा युद्धविराम भएपछि कस्मिर भारत र पाकिस्तानबिच ‘लाइन अफ कन्ट्रोल’ (नियन्त्रण रेखा) भन्ने सीमाबाट विभाजित भयो । कस्मिर बोराक्स, निलम, ग्रेफाइट, मार्बल, जिप्सम र लिथियमजस्ता खनिजले भरिपूर्ण भएकाले रणनीतिक रूपमा महत्वपूर्ण छ । यो क्षेत्र भारत र पाकिस्तान दुवैका लागि सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण छ ।
कस्मिरको रणनीतिक महत्व र स्वामित्वको विवादका कारण यहाँ धेरैपटक द्वन्द्व भइसकेका छन्, जसमा सन् १९६५ र १९९९ का युद्ध प्रमुख हुन् । सन् २०१६ मा कस्मिरको उरीमा १९ भारतीय सैनिक मारिएपछि भारतले नियन्त्रण रेखापारि ‘सर्जिकल स्ट्राइक’ गरेको थियो । सन् २०१९ मा भारत प्रशासित कस्मिरको पुलवामामा भएको बम विस्फोटमा ४० भन्दा बढी अर्धसैनिक बलका सदस्य मारिएका थिए । भारतले त्यसको जवाफमा बालाकोटमा हवाई आक्रमण गरेको थियो, जुन सन् १९७१ यता पहिलोपटक पाकिस्तानभित्रको कारबाही थियो । यसपछि पाकिस्तानले प्रत्याक्रमण गर्दा छोटो हवाई द्वन्द्व भएको थियो ।
यस्ता द्वन्द्व थप ठुला युद्धमा परिणत नहुनुको कारण भारतले अमेरिका, बेलायत र पाकिस्तानमाथि कूटनीतिक दबाब दिएको र पाकिस्तानले पनि मौजुदा स्थिति नबिगार्ने इच्छाशक्ति देखाएको थियो । आणविक शक्ति सम्पन्न यी दुई देश (भारतले सन् १९७४ मा र पाकिस्तानले सन् १९९८ मा आणविक हतियार प्राप्त गरेका थिए) लाई पूर्ण युद्धको सम्भावित विनाश थाहा छ ।
अब के हुन्छ ? : अबको मुख्य प्रश्न यसअघिझैँ यसपटक पनि संयमित सोच हाबी हुनेछ भन्ने नै हो । भारतको ‘अप्रेसन सिन्दुर’लाई सत्तारुढ भाजपा र विपक्षी कंग्रेस दुवैले समर्थन गरेका छन्, जसले लोकप्रियता घट्दै गएको अवस्थामा मोदीलाई लाभ दिएको छ । स्मरण रहोस्, सन् २०२४ को चुनावमा भाजपाले ६३ सिटसँगै बहुमत गुमाएको थियो । मोदी नेतृत्वमा भारत थप अधिनायकवादी बन्दै गएको छ, जसले युद्धको जोखिम बढाएको छ । इतिहासले यस्ता शासकले जनसमर्थन पाउन जोखिमपूर्ण कदम चाल्न सक्छन् भन्ने देखाएको छ ।
घरेलु समर्थन कायम राख्न र सैन्य बजेटको औचित्य देखाउन भारतको आक्रमणको बलियो जवाफ दिने दबाब पाकिस्तानमाथि छ । हालको तनाव विशेषतः गम्भीर छ किनभने कस्मिर द्वन्द्वमा पहिलो पटक भारतले पाकिस्तानको मुटु मानिने पञ्जाबमा आक्रमण गरेको छ । यसले पाकिस्तानभित्र बदला लिन र शक्ति सन्तुलन कायम गर्न थप दबाब सिर्जना गरेको छ । भारत र पाकिस्तान दुवैले भूमि गुम्न नदिने अडान लिएका छन् । तर, कुनै द्विपक्षीय वार्ता वा संकट व्यवस्थापनको संयन्त्र भने छैन । यसैबिच दक्षिण एसियामा संकट समाधानकर्ताका रूपमा रहेको अमेरिकाको भूमिका डोनाल्ड ट्रम्पको नेतृत्वमा कमजोर भएको छ, जसले तनाव कम पार्न झनै गाह्रो बनाएको छ ।
(लिन्डस्टेड एसेक्स विश्वविद्यालयमा सरकार विभागकी प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट