
गत १० र ११ असोजको अविरल वर्षाका कारण क्षतिग्रस्त कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक बर्खाअघि नै सञ्चालनमा आउने भएको छ । प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनामार्फत ठेक्का लागेर काम भइरहेको सडकखण्डको पुनर्निर्माण तथा स्तरोन्नतिको काम अहिले धमाधम भइरहेको छ ।
गत असोजको अविरल वर्षाका कारण सडकखण्डको तीन स्थानमा पुल र सडक बगाएको थियो । भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा बाढीले इन्द्रसरोवर गाउँपालिका– २ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडकखण्डको दुई स्थानमा करिब १२ सय मिटर सडक बगाएको थियो । जसमध्ये कुलेखानी जलाशयमुनिको सिमखोला पुलमा क्षति पुग्नुको साथै पहुँचमार्ग बगाएको थियो । यसैगरी, इन्द्रसरोवर गाउँपालिका– ३ एकान्तकुना लामाबगरमा ७०० मिटर र इन्द्रसरोवर– २ डोडारे (सिस्नेरी बजार) मा ५०० मिटर सडक बगाएको थियो । पुल र सडक बगाएसँगै सडकखण्डमा खोलाबाट डाइभर्सन गरेर हेटौँडा–काठमाडौं आउजाउ गर्ने सवारीसाधन सञ्चालन भइरहेको छ ।
अहिले सिस्नेरी बजार क्षेत्र र ज्यामिरे खण्डको सडकलाई पुरानै अवस्थामा फर्काउने गरी काम भइरहेको छ । दुई स्थानमा प्लम्प वालसहित मेसिनरी वाल लगाएर सडकको ट्र्याक निर्माणको काम भइरहेको छ । कुलेखानी ड्याममुनि सिमखोलामा बेलिब्रिज हाल्ने काम अघि बढाइएको छ ।
सडकअन्तर्गतको ज्यामिरे र सिस्नेरी खण्डका लागि दुईवटा ठेक्का सम्झौता भई काम भइरहेको बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका सचिव अमृत श्रेष्ठले बताए । उनका अनुसार ज्यामिरे खण्डमा हालसम्मको अवस्थामा ३८ प्रतिशत र सिस्नेरी खण्डमा ४२ प्रतिशतभन्दा बढी निर्माण सकिएको छ । अहिलेकै अवस्थामा निर्माणकार्यले तीव्रता पाए १५ जेठसम्ममा सडकखण्डबाट सवारी सञ्चालनका लागि योग्य सडक निर्माण हुने उनले दाबी गरे ।
सडक निर्माणको जिम्मेवारी पाएको वइसिस पशुपत्रा जेभीका प्रतिनिधि इन्जिनियर ऋषिराज पोखरेलले ढिलोमा १५ जेठमा सडक निर्माण सम्पन्न गरेर जिम्मा लगाउने गरी काम भइरहेको बताए । उनले प्रदेश सरकार, प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना र स्थानीयको राम्रो सहयोगका कारण आफूहरूले सोचेभन्दा पनि छिटो काम गरिरहेको दाबी गरे ।
गत फागुनमा प्रदेश सरकारले वर्षायामअगाडि नै काम सक्ने गरी दुई प्याकेजमा ठेक्का आह्वान गरी प्रक्रिया अगाडि बढाइएको थियो । जसअन्तर्गत हेबी ज्यामिरे क्षेत्रको सात सय मिटर सडक मर्मत गर्न चार करोड ४५ लाख रुपैयाँ र सिस्नेरी बजार क्षेत्रको पाँच सय मिटर सडक निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना कार्यालयका प्रमुख देवनारायणप्रसाद यादवले जानकारी दिए । कुलेखानी ड्याममुनिको सिमखोलामा बेलिब्रिज राख्न र पहुँचमार्ग निर्माणका लागि यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत ठेक्का आह्वान गरी एक करोड ७९ लाखमा निर्माण गर्ने गरी काम थालिएको उनले बताए ।
समयमा काम सक्न मन्त्री मास्केको निर्देशन
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्केले ठेक्का लागेका क्षेत्रको काम छिटो सक्न निर्देशन दिएका छन् । आइतबार हेटौँडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको सडकखण्डको पुनर्निर्माणको कामको निरीक्षण गर्न पुगेका उनले नागरिकको सहजताका विषयमा कुनै बहनाबाजी नगरी काम हुनुपर्ने बताए ।
निरीक्षणका क्रममा मन्त्री मास्केले सिस्नेरी–दक्षिणकाली सडकखण्डको सलेन डाँडा, छैमलेलगायत क्षेत्रमा सडक निर्माणको क्रममा भएका अवरोध तथा समस्याबारे पनि जानकारी लिएका थिए । उनले सो क्षेत्रका स्थानीय तथा जनप्रतिनिधि र सरोकारवालासँग छलफल गर्दै समयमै काम सम्पन्न गर्न सहयोग गर्न आग्रह गरे । उनले मन्त्रालय र मातहतका निकायद्वारा ठेक्का लगाएका क्षेत्रमा भएका काम गुणस्तरीय र पारदर्शी हुनुपर्नेमा जोड दिए ।
‘विशेषगरी धेरै क्षति भएको हेबी–ज्यामिरे र सिस्नेरी बजार क्षेत्रको सडक निर्माणको कार्य छिटो सक्न मन्त्रालय र सम्बन्धित सबै तदारुकताका साथ लागिपरेका छौँ,’ उनले भने, ‘आउँदो बर्खाअघि नै यो सडक सुचारु गर्ने तयारीमा छौँ । निर्माणकार्यको प्रगति हेर्दा बर्खाअघि नै सडक नियमित सुचारु गर्न सक्छौँ, यदि कसैले कुनै पनि बहानामा काम रोक्ने अवरोध गर्ने गतिविधि गरे नियमानुसार कारबाही गर्छौँ ।’