१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
रेफात इब्राहिम
२o८२ बैशाख २० शनिबार o७:४१:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नरसंहारले निमोठेको गाजाको शैक्षिक फूलबारी

Read Time : > 3 मिनेट
रेफात इब्राहिम
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार o७:४१:oo
  • डेढ वर्षअघि मात्र स्कुलमा हाँस्दैखेल्दै दौडिएका केटाकेटी अहिले घाममुनि वा चिसोमा उभिएर खानाका लागि याचना गरेको वा भिख माग्दै गरेको देख्दा असह्य पीडा हुन्छ । 

प्यालेस्टिनीहरू सिक्ने कुरामा सधैँ जोसिला हुन्छन् । ओटोमन युगमा प्यालेस्टिनी विद्यार्थी उच्च शिक्षा हासिल गर्न इस्तानबुल, कायरो र बेरुतसम्म जान्थे । ब्रिटिस जनादेश कालमा स्थानीयवासीलाई अनभिज्ञ राख्ने औपनिवेशिक नीतिको सामना गर्दै प्यालेस्टिनी किसानले स्थानीय स्रोतसाधन जुटाएर ग्रामीण भेगमा विद्यालय स्थापना गरे । त्यसपछि नक्बा युग आयो । कब्जा र विस्थापनले नयाँ पीडा ल्यायो । तथापि, प्यालेस्टिनीमा रहेको ज्ञानको खोजीलाई पूर्णतया फरक स्तरमा पुर्‍यायो । विद्यालय एउटा यस्तो ठाउँ बन्यो, जहाँ प्यालेस्टिनीले आफ्नो उपस्थिति महसुस गर्न सक्थे । शिक्षाले उनीहरूलाई आफ्ना अधिकार र राम्रो भविष्यबारे सपना देख्न सक्षम बनायो । शिक्षा आशाको किरण बन्यो । यसकारण गाजाका शरणार्थी शिविरमा स्थापित पहिलो सामाजिक सेवामध्ये शिक्षा एक थियो । सिक्नका लागि विद्यार्थी ब्ल्याकबोर्डको अगाडि बालुवामा घुँडा टेकेर बस्थे । समुदायले सबै बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गर्न सक्दो प्रयास गरे ।

मलाई याद छ, बाल्यकालमा हरेक बिहान छिमेकका गल्ली स्कूल जाने बच्चाले भरिएको देख्थेँ । सबै परिवारले बालबच्चालाई स्कुल पठाउँथे । जब म विश्वविद्यालय जाने उमेरमा पुगेँ, मैले उही दृश्य देखेँ, उज्ज्वल भविष्यको सपना देख्दै विश्वविद्यालय र कलेजमा सँगै आउने विद्यार्थीको भिड ।

दशकौँदेखि शिक्षाको यो अथक प्रयास अचानक अक्टोबर ०२३ मा रोकियो । इजरायली सेनाले स्कुल र विश्वविद्यालयमा बम विस्फोट गरे, पुस्तक मात्र जलाए, यसले प्यालेस्टिनी शिक्षाको सबैभन्दा महत्वपूर्ण स्तम्भमध्ये एक शैक्षिक न्यायलाई नै ध्वस्त पार्‍यो ।

नरसंहारअघिको लोभलाग्दो शिक्षा
नरसंहारअघि गाजामा शिक्षा क्षेत्र फस्टाइरहेको थियो । कब्जा र नाकाबन्दीका बाबजुद विश्वको सबैभन्दा उच्च साक्षरता दर (९७ प्रतिशत) थियो । माध्यमिक शिक्षामा भर्ना दर ९० प्रतिशत थियो र उच्च शिक्षामा भर्नादर ४५ प्रतिशत । यस सफलताको एउटा मुख्य कारण गाजामा प्राथमिक र माध्यमिक तहमा शिक्षा पूर्ण रूपमा निःशुल्क थियो । सरकारी र युएनआरडब्लुएद्वारा सञ्चालित विद्यालय सबै प्यालेस्टिनी बालबालिकाका लागि खुला थिए । जसले सबैका लागि समान अवसर सुनिश्चित गर्थ्यो, पाठ्यपुस्तक निःशुल्क वितरण गरिएको थियो । परिवारले झोला, नोटबुक, कलम र विद्यालय पोसाक किन्न सहयोग पाएका थिए ।

शिक्षा मन्त्रालय, युएनआरडब्लुए र अन्य संस्थाद्वारा विभिन्न क्षेत्रमा प्रतिभाशाली विद्यार्थीलाई आर्थिक स्थितिमा सहयोग गर्न धेरै कार्यक्रम आयोजना गर्थे । पठन प्रतियोगिता, खेलकुद कार्यक्रम र प्रविधि कार्यक्रम नियमित रूपमा आयोजना हुन्थ्यो ।

विश्वविद्यालयस्तरमा उच्च शिक्षालाई पहुँचयोग्य बनाउन महत्वपूर्ण प्रयास गरियो । एउटा सरकारी विश्वविद्यालय थियो, जसले प्रतीकात्मक शुल्क लिने गर्थ्यो । सात निजी विश्वविद्यालयले मध्यमदेखि उच्च शुल्क र पाँच विश्वविद्यालय कलेजले मध्यम शुल्क लिने गर्थे । गाजामा युएनआरडब्लुएसँग सम्बद्ध एक व्यावसायिक कलेज पनि थियो, जसले पूर्ण रूपमा निःशुल्क शिक्षा प्रदान गर्थ्यो । 

विश्वविद्यालयले उत्कृष्ट र विपन्न विद्यार्थीलाई उदार छात्रवृत्ति प्रदान गर्थे । शिक्षा मन्त्रालयले विभिन्न देश र अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सहकार्यमा आन्तरिक र बाह्य छात्रवृत्ति पनि प्रदान गर्थ्यो । शिक्षण शुल्क तिर्न सहयोगका लागि उच्च शिक्षा ऋण कोष थियो । सरल भाषामा भन्नुपर्दा गाजामा नरसंहार हुनुभन्दा पहिले शिक्षा सबैको लागि पहुँचयोग्य थियो । 

नरसंहारबिच शैक्षिक गतिविधि
अक्टोबर २०२३ देखि जियोनिस्ट युद्ध (स्वतन्त्र यहुदी राज्यको वकालत गर्ने पक्ष) विद्यालय, विश्वविद्यालय र शैक्षिक पूर्वाधार केन्द्रित बन्यो । संयुक्त राष्ट्र संघको तथ्यांकअनुसार ५६४ विद्यालयमध्ये ४९६ (लगभग ८८ प्रतिशत) क्षतिग्रस्त वा नष्ट भए । त्यसबाहेक गाजाका सबै विश्वविद्यालय र कलेज नष्ट भए । ६ लाख ४५ हजारभन्दा बढी विद्यार्थी कक्षाकोठाबाट वञ्चित भए र विश्वविद्यालयका ९० हजार विद्यार्थीको शिक्षा अवरुद्ध छ ।

नरसंहार जारी रहँदा शिक्षा मन्त्रालय र विश्वविद्यालयबाट शैक्षिक प्रक्रिया पुनः सुरु गर्ने प्रयास भए । स्कुले बालबालिकाका लागि व्यक्तिगत कक्षा र विश्वविद्यालयका विद्यार्थीका लागि अनलाइन पाठ्यक्रम सञ्चालनमा आयो । विस्थापन शिविरमा पाल विद्यालय स्थापना गरियो, जहाँ युवा स्वयंसेवकले बालबालिकालाई निःशुल्क पढाउँथे । विश्वविद्यालयका प्राध्यापकले गुगल क्लासरूम, जुम, ह्वाट्सएप र टेलिग्राम च्यानलजस्ता अनलाइन शिक्षण उपकरण प्रयोग गर्थे । 

यी प्रयासका बाबजुद नियमित शिक्षा अभावले शैक्षिक प्रक्रियामा महत्वपूर्ण खाडल सिर्जना गर्‍यो । इजरायली सेनाको निरन्तर बमबारी र जबर्जस्ती विस्थापन आदेशले शिक्षा क्षेत्रलाई चुनौतीपूर्ण बनायो । स्रोतसाधनको अभावका कारण पाल विद्यालयले उचित निर्देशन प्रदान गर्न सकेनन् । 

शैक्षिक क्षेत्रको पतन
गाजामा दशकौँ लागेर सुधार गरिएको शैक्षिक क्षेत्रलाई ध्वस्त पार्न डेढ वर्षको नरसंहार पर्याप्त थियो । युद्धपूर्व विद्यार्थीलाई आफ्नो शिक्षा जारी राख्न सामाजिक वर्ग बाधक थिएन । तर, आज गरिब वर्ग शिक्षाबाट वञ्चित छ । धेरै कम परिवारले मात्र सबै बालबालिकालाई शिक्षामा निरन्तरता दिएका छन् । 

त्यहाँ निकै गरिब वर्ग पनि छन्, जसले आफ्ना कुनै पनि सन्तानलाई विद्यालय पठाउन सक्दैनन् । उनीहरूका लागि बाँच्नु प्राथमिकता हो । नरसंहारको समयमा यो समूहले समाजको ठुलो भागको प्रतिनिधित्व गरेको छ । विनाशकारी आर्थिक अवस्थाले अनगिन्ती बालबालिकालाई स्कुल जानुको सट्टा काम गर्न बाध्य पारेको छ । विशेषगरी युद्धमा आम्दानी गर्ने व्यक्ति गुमाएका घरमा यस्तो बाध्यता छ । सडकहरू विभिन्न सामान बेच्ने बच्चाले भरिएका हुन्छन् । धेरैलाई युद्धका नाफाखोरले थोरै ज्यालामा चुरोटजस्ता सामग्री बेच्न शोषण गर्छन् । 

साना केटाकेटी बटुवालाई पछ्याउँदै भिख माग्न बाध्य छन् । डेढ वर्षअघि मात्र स्कुलमा हाँस्दैखेल्दै दौडिएका केटाकेटी अहिले घाममुनि वा चिसोमा उभिएर परिवारलाई अपर्याप्त खानाका लागि समेत याचना गरेको वा भिख माग्दै गरेको देख्दा असह्य पीडा हुन्छ । गाजाका विद्यार्थीका लागि शिक्षा कहिल्यै पनि शैक्षिक प्रमाणपत्र वा आधिकारिक कागज प्राप्त गर्ने माध्यम थिएन । यो आशावाद र साहसबारे थियो । इजरायली कब्जाविरुद्धको प्रतिरोधको एक स्वरूप थियो । उनीहरूको परिवारलाई गरिबीबाट बाहिर निकाल्ने र परिस्थिति सुधार गर्ने अवसर थियो । शिक्षा जीवन र आशा थियो । 

आज त्यो आशा इजरायली बमले चकनाचुर भएको छ । हामी अहिले आफूलाई खतरनाक अवस्थामा पाउँछौं, जहाँ सम्पन्न र गरिबबिचको खाडल फराकिलो हुँदै गइरहेको छ । त्यस्तो अवस्थामा पाउँछौँ, जहाँ एक सम्पूर्ण पुस्ताको सिक्ने र सोच्ने क्षमतामा ह्रास आइरहेको छ । प्यालेस्टिनी समाज पहिचान र संघर्ष जारी राख्ने क्षमतासमेत गुमाउने जोखिममा छ । 

(गाजास्थित प्यालेस्टिनी लेखक रेफात इब्राहिमको आलेख सुभाष शर्माले अनुवाद गरेका हुन् । इब्राहिम प्यालेस्टाइनसँग सम्बन्धित मानवीय, सामाजिक, आर्थिक र राजनीतिक मुद्दाबारे लेख्छन् । )

– अलजजिराबाट