
आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा पनि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)को पुनर्संरचना गरिने घोषणा गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने’ उल्लेख छ । सरकारका पछिल्ला नीति तथा कार्यक्रम र बजेटमा निगमको पुनर्संरचना गर्ने कार्यक्रम हत्तपत्त छुट्दैन । तर, कार्यान्वयनका लागि सरकारले ध्यान दिएको देखिँदैन ।
निगमको पुनर्संरचना सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट र आयोगले दिने सुझाव प्रतिवेदनमा मात्र सीमित बनेको छ । निगमको सुधारका लागि भनेर ०५८ सालदेखि गठित आयोग र समितिहरूले पनि निगमको पुनर्संरचना गर्न सरकारलाई सुझाव दिँदै आइरहेका छन् । अहिलेसम्म झन्डै एक दर्जन आयोग र समितिले निगमको पुनर्संरचना गर्न सुझाव दिएको देखिन्छ ।
पछिल्लो समय गठित पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि पर्यटन क्षेत्रको विकासका लागि हवाई पूर्वाधारदेखि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसम्म सुधार गर्न सुझाव दिएको छ ।
आयोगले नेपाल वायुसेवा निगमको संरचनागत सुधार गरी रणनीतिक साझेदार भित्र्याउन सुझाव दिएको छ । नेपाल आउने पर्यटकलाई सस्तो दरको हवाई भाडा कायम गर्न राष्ट्रिय ध्वजावाहकको संरचनागत सुधार अत्यावश्यक रहेको आयोगको ठहर छ । अहिलेकै व्यवस्थापनमा निगम सुदृढ नबन्ने आयोगको ठम्याइ छ ।
नीति तथा कार्यक्रममा नागरिक उड्डयन नियमनलाई प्रभावकारी बनाई हवाई सेवा सुरक्षित, सुलभ र पहुँचयोग्य बनाउने घोषणा गरिएको छ । हवाई पूर्वाधार र सेवा प्रवाहमा निजी क्षेत्रको सहभागिता बढाउने पनि उल्लेख छ । आर्थिक, व्यावसायिक र वातावरणीय सम्भाव्यताका आधारमा मात्र विमानस्थल निर्माण तथा विस्तार गरिने भएको छ ।
नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्को यसै अधिवेशनबाट पारित गर्ने प्रतिबद्धता नीति तथा कार्यक्रममा छ ।
नेपाललाई प्राकृतिक, सांस्कृतिक, साहसिक र चलचित्र पर्यटनको सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा विकास गर्ने कार्यक्रम आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि दोहोरिएको छ । योग ध्यानमार्फत सकरात्मक साेचको अभिवृद्धि गरी नेपाललाई आरोग्य र ध्यान पर्यटनको क्षेत्रलाई आयआर्जन, रोजगारी र समृद्धिको आधारको रूपमा विकास गरिने भएको छ ।