१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १४ आइतबार
  • Sunday, 27 April, 2025
२o८२ बैशाख १४ आइतबार १२:११:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दलित समुदायमाथि लगातार अत्याचार : नौ महिनादेखि इनार जान बन्देज, स्थानीय मन्दिरमा पूजा र भोजभतेरमा रोक, अहिले निर्घात कुटपिट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १४ आइतबार १२:११:oo

इनारमा बार लगाएर नौ महिनादेखि पानी उपभोग गर्न बन्देज, स्थानीय मन्दिरमा पूजा र भोजभतेरमा रोक, अहिले आएर निर्घात कुटपिट । अत्याचारको यो सिलसिला सप्तरीको सुरुंगा नगरपालिका–५, बनिगामा टोलका दलित समुदायमाथि चौधरी समुदायका व्यक्तिले गरेको हो । 

दलितमाथि गरेको दमनको घटनामा प्रहरी कार्यालयमा उपस्थित भएर माफी माग्नुपरेको पुरानै विषयलाई रिसइबी बनाएर स्थानीय दुर्गानन्द चौधरी, चन्द्र चौधरी, नित्यानन्द चौधरी, शर्मिला चौधरीलगायत २५–३० जनाको समूहले बिहीबार अबेर साँझ ८ बजेतिर रामचन्द्र रामको घरमै गएर कुटपिट र गालिगलोज गरेको थियो । तथानाम गालिगलोज गरेपछि सम्झाउन गएका रामचन्द्रका भाइ हरि, उनकी श्रीमती सुकमैनदेवी, सुगिलाल राम र बिल्टौनदेवी राममाथि कुटपिट भएको हो । उनीहरूलाई लहानस्थित माँ धमिनी अस्पताल पुर्‍याइएको थियो । अस्पतालका स्वास्थ्य सहायक रामपुकार सिंहका अनुसार उनीहरूमध्ये हरिको छातीमा भित्री चोट छ भने सुकमैनको टाउको र पिठ्युँमा चोट लागेको छ । 

रामचन्द्रका अनुसार तत्काल प्रहरी बोलाएपछि कुटपिट गर्ने समूह घरतिर हिँडेको थियो । घाइतेलाई राति नै अस्पताल पुर्‍याइएको थियो । त्यसपछि शुक्रबार रामचन्द्रले इलाका प्रहरी कार्यालय कडरबोनामा पुगेर घाइतेको घाउजाँच गराई विपक्षीलाई पक्राउ गर्नुपर्ने माग गर्दै उजुरी दिएका थिए । उजुरी दर्ता गरेपछि प्रहरीले घाइतेको घाउजाँच गराई ल्याउन दुइटा लिखत दिएको छ । अब आइतबार डिस्चार्ज गर्ने तयारी रहेको र त्यसपछि कडरबोना प्राथमिक स्वास्थ्य केन्द्रमा गएर घाउजाँच गराई प्रहरीलाई फारम बुझाउने तयारी रहेको रामचन्द्रले बताए । 

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक गजेन्द्र रायले कुटपिट गर्नेको खोजी भइरहेको बताए । उनले भने, ‘कुट्नेहरूको खोजीका लागि पनि प्रहरी खटाएको छौँ, तर भेटिएका छैनन् ।’ 

सुरुंगा–५ का वडाध्यक्ष दिलाराम चौधरी भोजको विषयमा भएको विवाद भनाभनको स्थितिमा पुगेको बताउँछन् । वडाध्यक्ष कुटपिट गर्ने समुदायकै र सोही गाउँका हुन् । ‘भोज खुवाउने परिवारले दलित बस्तीको एक घरलाई मात्रै खान बोलाएको भन्ने सुनेको छु, भोजमा नबोलाइएकाहरूले समुदायलाई जोडेर गालिगलोज गरेपछि सम्झाउन जाँदा भनाभन भएको हो,’ उनले भने । 

अनाहकमै माइती कुटिएपछि दलितकी बुहारीले प्रतिवाद गर्दा समुदाय नै निसानामा
अहिले चौधरी समुदायले कुटपिट गरेका हरि र सुकमैनदेवी रामकी बुहारी रिंकुको माइती छिमेकी गाउँ कुसहा हो । गत असारमा कुसहाका मुकेश राम र दयानन्द राम मजदुरी गरेर बनिगामा हुँदै आफ्नो घर फर्किँदै थिए । स्थानीय चौधरी समुदायका केही युवाले उनीहरूलाई ‘चोर’ भन्दै अनाहकमा कुटेपछि रिंकुले प्रतिवाद गरिन् । स्थानीय कमल रामका अनुसार त्यही राति उपल्लो जातका भनिएकाहरूले पञ्चायती राखेर रिंकुलाई घरबाट जबर्जस्ती उठाई कुटपिटको प्रयास गरेका थिए । उक्त घटना प्रहरीमा पुगेपछि उपल्लो जातका व्यक्तिले माफी माग्नुपर्दा रिसिइबी बढेको उनले बताए ।

‘रिंकुलाई घरबाट उठाएर पञ्चायत बसेको ठाउँमा लगेपछि उनकी सासू सुकमैनदेवी पनि पछिपछि गइन् । दलित भएर उपल्लो जातसँग मुखमुखै लाग्ने भनेर ५० हजार जरिवानाको निर्णय सुनाएर बाँसको भाटा तताई कुटपिटसमेत गर्न खोजे,’ कमलले भने, ‘यो घटनाबारे कडरबोना प्रहरीमा उजुरी पर्‍यो । त्यहाँ छलफल हुँदा पञ्चायती बस्नेहरूले माफी माग्नुपर्‍यो ।’

त्यसपछि चौधरी समुदायले खानेपानीको इनारमै बाँसको बार लगाएर दलितलाई रोक लगाएको कमलले बताए । ‘हामीलाई पानी पिउनसमेत वर्जित गरियो । पानी पिउनै सकस भएपछि चन्दा उठाएर इनारकै छेउमा खानेपानीको कल राखेका छौँ,’ उनले भने । 

उक्त टोलमा दलितको आठ घर छ । खेतीपाती राम्रो होस् भनेर असारमा पूजा गरिने स्थानीय डिहबार मन्दिर प्रवेशमा पनि गत वर्ष रोक लगाइएको पीडित हरि रामले बताए । उनका अनुसार पछिल्लो समय स्थानीय भोजभतेरमा पनि दलित समुदायलाई वर्जित गरिएको छ ।