१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ११ बिहीबार o८:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

युएईका उपप्रधानमन्त्री उच्चस्तरीय भेटवार्तामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार o८:२५:oo

नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले बुधबार शीर्ष नेताहरूसँग भेट गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरे । बुधबारै उनले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गरेका छन् । 

शीतलनिवास पुगेका नाह्यानसँग राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका मुद्दामा काम गर्नुपर्नेमा जोड दिएका थिए । स्रोत–साधन आवश्यक भएका देशलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्नुपर्ने राष्ट्रपतिको भनाइ थियो । 

नेपाल र संयुक्त अरब इमिरेट्सले पहाडी र तटीय मुलुकहरूका रूपमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावको साझा जोखिमको सामना गरिरहेको राष्ट्रपतिको भनाइ थियो । प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले संयुक्त अरब इमिरेट्सले चार लाखभन्दा बढी नेपालीलाई रोजगारीको अवसर प्रदान गरेको धन्यवाद दिए । ‘युएई नेपालीका लागि दोस्रो घरका रूपमा रहेको छ । उनीहरूले दुई देशबिच जनस्तरको सम्बन्ध विस्तारका लागि जीवित पुलका रूपमा पनि काम गरिरहेका छन्,’ पौडेलले भने । युएई नेपालको चौथो ठूलो व्यापारिक साझेदार देश हो । 

‘हाम्रो द्विपक्षीय व्यापार अभिवृद्धि गर्न सकिने ठुलो सम्भावनामा निजी क्षेत्रको संलग्नतालाई प्रोत्साहित गर्नुपर्छ । संयुक्त अरब इमिरेट्सका लगानीकर्तालाई कृषि, खानी, जलविद्युत्, पूर्वाधार विकास, पर्यटन र आतिथ्य, सूचना प्रविधि र सेवा क्षेत्रजस्ता सम्भाव्य क्षेत्रहरूमा लगानी गर्न प्रोत्साहित होस् भन्ने चाहन्छौँ,’ राष्ट्रपतिले भने । अघिल्लो महिना रमजानका अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिने र रिहा गर्ने संयुक्त अरब इमिरेट्सको मानवीय कदमका लागि उनले कृतज्ञता व्यक्त गरे । युएईका उपप्रधानमन्त्री नाह्यानले जलवायु न्यायका सम्बन्धमा राष्ट्रपति पौडेलका भावनालाई मार्गदर्शनका रूपमा लिने बताए ।