१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
आतंककारी हमलामा मारिएका सुदीप न्यौपानेप्रति बुधबार बुटवलको रम्भादेवी कलेज अफ मेडिकल साइन्समा श्रद्धाञ्जली अर्पण गरिँदै । सुदीप रम्भादेवीका पूर्वविद्यार्थी हुन् ।
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:o५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पहलगाममा आतंकवादी हमला : सुदीप परिवारको रमाइलो क्षण केही मिनेटमै रगत र रुवाबासीमा परिणत 

बुटवल उपमहानगरपालिका– ११ का २७ वर्षीय सुदीप मंगलबार भएको आतंकवादी आक्रमणमा परेर ज्यान गुमाउने २६ मध्ये एक बने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:o५:oo

आमा, बहिनी र ज्वाइँसँगै केही खुसीका पल सँगाल्ने सोचले सुदीप न्यौपाने शनिबार भारतको जम्मु–कस्मिरतर्फ हिँडेका थिए । हिउँसँग खेल्ने, रमाइलो गर्ने कल्पनाको यात्रामा उनी दिल्ली हुँदै कस्मिरको पहलगाम पुगे । तर, त्यो रमाइलो क्षण केही मिनेट टिकेन, रगत र रुवाबासीमा परिणत भयो ।

बुटवल उपमहानगरपालिका– ११ का २७ वर्षीय सुदीप मंगलबार भएको आतंकवादी आक्रमणमा परेर ज्यान गुमाउने २६ जनामध्ये एक बने । उनी सधैँका लागि फर्किन सकेनन् । छोरा गुमाएकी आमा रिमा घाइते छिन् । तर, उनको आँखा आँसुले भरिएको छ । एक्लो छोरा, त्यो पनि बिचैमा खोसिएको यात्रा । आमासँग त्यो पीडाको कुनै शब्द नहोला । 

बुवा ध्रुव (कौशलराज) काठमाडौंमा शिक्षक आन्दोलनमा थिए । उनी बुटवल फर्किने क्रममा छोराको मृत्युको खबर पाए । खबरसँगै उनको संसार भासिएसरह भयो । उनी शिक्षक आन्दोलनका लागि झन्डै एक महिनादेखि काठमाडौंमा थिए ।

हिउँ खेल्ने ठाउँमा एक्कासि आएर बन्दुकधारीले एकाएक आक्रमण गरेका थिए । बुटवल– १४ का वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार आक्रमणकारीले ‘कुन धर्मका हौ ?’ भनेर सोधेका थिए । अनि उनीमाथि गोली चलाएका थिए । तातो गोलीले सुदीपको जीवन त्यही क्षणमा सकियो । न्यौपानेका अनुसार घटनास्थलको थप विवरण पाउन सकिएको छैन । सुदीपको बाल्यकाल पनि सजिलो थिएन । आमा–बुवाको सम्बन्धविच्छेदपछि उनी आमा र बहिनीसँग बुटवल– ११ मा बस्दै आएका थिए । बुटवल– ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार सुदीपको परिवार बुटवल– ११, होराइजन टोल मनकामना पथमा बस्दै आएको छ । 

त्यसअघि उनीहरूको घर बुटवल– १४, बेलभरियामा थियो । वडा नम्बर १४ का वडाध्यक्ष न्यौपानेका अनुसार सुदीपको पुख्र्यौली घर पाल्पाको बगनासकाली गाउँपालिका– ४ हो । बुटवल आएका थिए । धरानमा जनस्वास्थ्य विषयमा स्नातक गर्दै गरेका सुदीप सामाजिक कामप्रति अत्यन्तै उत्साही थिए । ‘नेपालमै केही गर्नुपर्छ,’ भन्ने अठोट बोकेका उनले स्वास्थ्य जनचेतनाका कार्यक्रममार्फत ग्रामीण भेगमा सेवा पुर्‍याउँदै आएका थिए । भैरहवा र प्युठानका विद्यालयमा उनले चलाएका जनचेतनामूलक कार्यक्रमका सम्झना अझै ताजा छन् । 

बुटवलस्थित आधुनिक समाज डेन्टलका सञ्चालक अमृत भुसालका अनुसार सुदीपले एचएको अध्ययनपछि नै सामाजिक काममा पाइला सार्न थालेका थिए । स्नातक अध्ययन गर्दैगर्दा सुदीपसँग विभिन्न सामाजिक काममा सहकार्य गरेको अमृतले बताए । अमृत भन्छन्, ‘सुदीप मिहिनेती थिए, मिलनसार थिए । हामीसँगको धेरै सहकार्य बाँकी थियो । तर, त्यो यात्रा आतंककारीको बन्दुकले बिचैमा तोडिदियो ।’

दिल्लीस्थित नेपाली दूतावासका अनुसार घटनामा सुदीपकी आमा रिमकला, युवराज काफ्ले, सुष्मा न्यौपाने र अर्का नेपाली हरिप्रसाद सापकोटा घटनामा घाइते भएका छन् । घाइते र मृतकको शव नेपाल ल्याउन नेपाली दूतावासले प्रयास गरेको परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले बताए । 

बैंककमा रहेकी परराष्ट्रमन्त्री राणाले बुधबार बिहान नयाँदिल्लीस्थित नेपाली राजदूत डा. शंकरप्रसाद शर्मासँग कुराकानी गरी यसमा समन्वय गर्न निर्देशन दिएकी थिइन् । राजदूत शर्माले भारतीय विदेश मन्त्रालयसँग यसबारे बुधबार दिनभरि समन्वय गरेका थिए । त्यहीअनुसार सुदीपको शव कस्मिरको श्रीनगरबाट नयाँदिल्ली, लखनउ हुँदै नेपाल–भारत सीमामा ल्याउने व्यवस्था भएको थियो ।

ओली–मोदी फोन वार्ता, शीर्ष नेताद्वारा घटनाको निन्दा
नेपालले भारतको जम्मु–कस्मिर केन्द्रशासित राज्यस्थित पहलगाममा मंगलबार आतंककारीद्वारा एक नेपालीसहित २६ जनाको हत्याको निन्दा गरेको छ । नेपालले आतंकवादविरुद्ध भारतसँग साथमा रहेकोसमेत नेपालले स्पष्ट पारेको छ । 

प्रधानमन्त्री केपी ओलीले बुधबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग फोनवार्ता गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलहरूले विज्ञप्तिमार्फत घटनाको निन्दा गरेका छन् । ‘मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेर पहलगाम आतंकवादी हमलामा भएको जनक्षतिप्रति गहिरो समवेदना प्रकट गरेँ,’ प्रधानमन्त्री ओलीले मोदीसँग फोनवार्तापछि सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यस्तो जघन्य कृत्यका विरुद्ध नेपाल भारतका साथमा अटुट ऐक्यबद्धता दोहोर्‍याए । नेपाली नागरिकको मृत्युप्रति उहाँ (मोदी)को समवेदनाका लागि मैले आभार व्यक्त गरेँ ।’

ओलीले आफूलाई भेट्न गएका भारतीय विद्युत् तथा आवास योजनासम्बन्धीमन्त्री मनोहरलाल खट्टरमार्फत भारत सरकारलाई दुःखको घडीमा नेपाल साथमा रहेको सन्देश सुनाएका छन् । 

भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मोदीले नेपाली नागरिकको मृत्यु भएकोप्रति समवेदना व्यक्त गरेका छन् । उनले आतंकवादी हमलाका अपराधीलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको पनि ओलीलाई बताए । ‘आतंकवादविरुद्धको लडाइँमा नेपाल र भारत एकसाथ उभिएका छन्,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा छ । 

प्रधानमन्त्री ओलीले बुधबार बिहान सामाजिक सञ्जालमार्फत घटनाको निन्दा गरेका थिए । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी पहलगाम हमलाको निन्दा गरेको छ । ‘यस दुःखको समयमा नेपाल भारत सरकार र जनतासँग दृढ ऐक्यबद्धता जनाउन उभिएको छ । नेपाल सबै प्रकारका आतंकवादको निन्दा गर्दछ, यस्ता आतंककारी कार्य कुनै पनि हालतमा जायज हुँदैन भन्नेमा दृढ अडान व्यक्त गर्दछ,’ परराष्ट्रले भनेको छ ।