१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नदी सभ्यताको रक्षा गर्न १३ करोडमा बोतल प्रशोधन उद्योग स्थापना

रिसाइक्लिङबाट कपडा र झोला बनाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३७:oo

प्लास्टिकले देशभरका नदी फोहोर भइरहेका वेला नदी सभ्यताको रक्षार्थ बोतल प्रशोधन गर्ने उद्योग स्थापना गरिएको छ। विश्व बैंकको सहयोग र संयुक्त राष्ट्रसंघीय खरिद सचिवालय (युनोप्स) तथा दक्षिण एसियाली वातावरण सहकार्य (सकेप)को कार्यान्वयनमा ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेन्ट नेपाल (क्रियसन)’ले भरतपुर महानगरपालिका–४, जगन्नाथ चोकमा करिब १३ करोड रुपैयाँको लागतमा उद्योग निर्माण गरेको हो।

उद्योगको आज उद्घाटन गरिएको छ। चीनबाट ल्याएको अत्याधुनिक यन्त्र जडान गरेर स्थापना भएको उद्योगले प्लास्टिकका बोतललाई ‘रिसाइक्लिङ’ गरी कच्चा पदार्थ बनाएर बिक्री गर्ने क्रियसनका संस्थापक अध्यक्ष आनन्द मिश्रले जानकारी दिए। उद्योगले अहिले प्लास्टिकको चिउरा र दाना बनाएर बजारमा बिक्री सुरु गरेको छ। भविष्यमा ‘रिसाइक्लिङ’ गरिएको प्लास्टिकबाट कपडा र झोला बनाउने लक्ष्य रहेको उनको भनाइ छ।

नदी सफा गर्ने यो अभियानमा चितवनका युवा र सामुदायिक विद्यालयका विद्यार्थीको पनि योगदान रहेको छ। उक्त अभियानमा १२ सामुदायिक विद्यालयका विद्यार्थी ‘बेस्ट स्मार्ट क्लब’ खोलेर चेतनामूलक अभियानमा सक्रिय भएका छन्। यो उद्योगमा ३५ युवाले रोजगारी पाएका छन्। निजी कम्पनी र अनौपचारिक क्षेत्रका श्रमिकबाट बोतल किनेर उद्योगले काम गरिरहेको छ।

उद्योग उद्घाटन समारोहमा समाज कल्याण परिषदका सदस्यसचिव मनोज भट्टले दिगो विकास लक्ष्य पूरा गर्न नदी एवं सार्वजनिकस्थलमा फालिने प्लास्टिकजन्य फोहोरलाई व्यवस्थापन गर्नुपर्ने बताए। नेपालको संविधान एवं कानुनबमोजिम फोहोर व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले नदी सभ्यताको संरक्षणका लागि यस्ता योजनालाई निरन्तर सहयोग जारी रहने बताए।

वातावरण विभागका दीपक ज्ञवालीले नेपालमा प्लास्टिकबाट बनेका फोहोर व्यवस्थापन समस्या बन्दै गइरहेका वेला फोहोरलाई मोहरमा बदल्ने गरी अभियान सुरु भएकामा सबैको सहयोग आवश्यक भएको बताए। सकेफका महानिर्देशक नोर्बु वाङ्चुकले प्लास्टिकका बोतल ‘रिसाइक्लिङ’ गरी बागमतीलगायत नेपालका नदीमा पुनः स्नान गर्न सकिने आशा पलाएको बताए। 

अभिनेता दयाहाङ राईले जल, जङ्गल र जमिनमा बस्ने सबैलाई बाँच्ने अधिकार रहेको उल्लेख गर्दै मानिस चेतनशील प्राणी भएर पनि वातावरण बिगार्ने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। विश्व बैंकका समूह संयोजक जासेफले प्लास्टिकका बोतलका कारण दक्षिण एसिया नै समस्यामा परेकाले यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। रासस