
सल्यानमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको दार्मा गाउँपालिका ४ पुखातमा शुक्रबार साँझ एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मृत फेला परेका पुरुष बागचौर नगरपालिका ४ का अन्दाजी ५५/५६ वर्षीय डिल्ली वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख केशर कुमार न्यौपानेले जानकारी दिए।
उनका अनुसार वली छोराको ससुरालीमा तिथिको भात खान शुक्रबार बिहान पुगेका थिए। उनी फर्किने क्रममा घरदेखि आधा घण्टा टाढाको दूरीमा चोटपटक नलागेको अवस्थामा बाटोमै मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रेशम खत्रीको टोली पुगेको र शवको मुचुल्का उठाउने काम भइरहेको उनले बताए। वलीको मृत्यु के कारणले भएको हो भन्ने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।