
बुटवलमा शनिवार बिहान भएको गोली प्रहार घटनामा भारतीय युवक संलग्न रहेको प्रहरीको निष्कर्ष छ । भारतीय युवकले नेपाली युवतीलाई विवाह गर्न दबाब दिएको, तर युवतीले अस्वीकार गरेपछि गोली प्रहार भएको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ।
बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्दै आएकी २९ वर्षीया टीका विष्ट क्षेत्रीलाई शनिबार बिहान करिब साढे ९ बजे गोली प्रहार भएको थियो। गोली प्रहारबाट घाइते भएकी युवतीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा रिफर गरिएकोमा त्यहाँबाट पनि चितवन लगिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
बुद्धनगरमै होटेल सञ्चालन गर्दै आएकी टीकामाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका एक भारतीय नागरिकले गोली प्रहार गरी फरार भएका थिए। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएको एक व्यक्तिले टीकाको होटेलनजिकैको अर्को होटेलमा बसेर एउटा रेड बुल खाएका थिए। टीकाले होटेल खोल्नासाथ गोली प्रहार गरेर सोही मोटरसाइकलमा फरार भएको प्रहरीले जनाएको छ।
खत्रीको ढाडमा गोली लागेको छ। गोली प्रहार गरिएको पेस्तोल बरामद नभए पनि घटनास्थलमा भेटिएको गोलीको खोकाको आधारमा कटुवा पेस्तोलले गोली प्रहार गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।
प्रहरीसँगको कुराकानीमा घाइते युवतीले सितारे आलम भन्नेले गोली प्रहार गरेको बताएकी छिन्। करिब २२–२३ वर्षका ती भारतीय नागरिकले विवाह गर्न पटक-पटक दबाब दिँदै आएको बताइएको छ।
साउनमा नवलपरासीबाट उद्धार गरिएको थियो
युवती र टीकाबिचको भेटघाट कहिलेदेखि थियो भन्ने स्पष्ट छैन। तर, प्रहरीमा गत साउन महिनामा उनीहरूको द्वन्द्वको रिपोर्ट पुगेको थियो। ती युवकले साउनमा युवतीलाई मोटरसाइकलमा राखी नवलपरासी पुर्याएको अवस्थामा प्रहरीले उद्धार गरी बुटवल ल्याएको थियो। युवकले अपहरण गरे भन्ने जानकारी छिमेकीले दिएपछि प्रहरीले पूर्वी नवलपरासीबाट उद्धार गरी बुटवल ल्याएको थियो । त्यति वेला पनि युवकलाई प्रहरीले पक्राउ गरेको थिएन । बुटवलमा युवतीलाई ल्याएपछि इलाका प्रहरी कार्यालयमा जाहेरी दिन लगाउँदा प्रहरीसमक्ष युवतीले आफूखुसी गएको बताएकी थिइन्। यहाँ झगडा भएर विवाद हुने देखिएपछि आफूखुसी गएकी हुँ, भन्ने प्रतिक्रिया दिएपछि र जाहेरी पनि नदिएपछि घटना त्यतिकै सेलाएको थियो। सोही युवकले गोली प्रहार गरेको प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।
प्रनाउ रानाले घटनालाई गम्भीरतापूर्वक लिएर प्रहरीले आक्रमणकारीको खोजी तथा अनुसन्धानमा लागेको बताए। विस्तृत अनुसन्धानबाट थप तथ्य खुल्ने भन्दै उनले गोली प्रहार गरी फरार व्यक्तिको खोजी भइरहेको जनाए। आक्रमणकारीको पहिचान खुलेको प्रहरीको भनाइ छ।