
हेरिटेज इन्टरनेसनल इन्स्टिच्युटका एकेडेमिक डाइरेक्टर प्रा. जिआन्लुइगी मास्तेन्द्राको आयोजना र त्रिभुवन विश्वविद्यालयकी डा. टिना मानन्धरको समन्वयमा चारसदस्यीय इटालियन टोलीले काठमाडौं उपत्यकासँगै पनौतीको भ्रमण गरेकाे छ । ऐतिहासिक तथा सम्पदा क्षेत्रको निरीक्षण गर्दै इटालियन विज्ञहरू यहाँको सांस्कृतिक सम्पदाबाट दंग र प्रभावित भएका छन् । उनीहरू विभिन्न प्रमुख तीन कार्यक्रममा सहभागी भए ।
पहिलो दिन पनौतीमा भएको अन्तर्क्रियामा नगरपालिका प्रमुख रामशरण भण्डारीले आफ्नो क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रयास भइरहेको बताए । पनौतीलाई विश्व सम्पदामा समावेश गर्न नेपालका प्रतिनिधिले प्राज्ञिक क्षेत्रमा आवश्यक सहयोग गर्ने जनाएको छ ।
दोस्रो दिन इटालियन टोलीले राष्ट्रिय संग्रहालय छाउनीसँग सहकार्य गर्ने प्रतिबद्धता गरेको छ । दुवै संस्थाको सहकार्यमा संग्रहालयमा दृष्टिविहीनका अवलोकनयोग्य बनाउन सहकार्य गर्ने छलफल भएको थियो । संग्रहालयमा राखिएका क्याप्सनलाई इटालियन, नेपाली र अंग्रेजी भाषाका ब्रेललिपिमा सूचीकरण गर्ने र दृष्टिविहीनले स्पर्श गरेर सम्बन्धित सामग्रीको जानकारी प्राप्त गर्न डेमो बनाउने पक्षमा छलफल भयो ।
तेस्रो दिन त्रिभुवन विश्वविद्यालय नेपाली, इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभाग र नाथमको सहकार्यमा अन्तर्राष्ट्रिय कन्फरेन्स आयोजनामा इटालीको टोलीबाट डा. फलाभिया ओर्साती, प्रो. जिआनलुका फिरिन्चिलुची र डा. जिओर्गिओ मारिनेलीले आआफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । प्रा.डा. त्रिरत्न मानन्धर र डा. सुरेश श्रेष्ठले नेपालबाट कार्यपत्र प्रस्तुत गरेका थिए । त्रिवि मानविकी संकायका डिन प्रा.डा. दुविनन्द ढकाल, प्रा.डा. पेशल दाहाल, सौभाग्य प्रधानांग, विभागीय प्रमुख डा. महेश आचार्यले आ–आफ्नो मन्तव्य राखेका थिए । सम्पदासम्बन्धी कन्फरेन्समा पाँचवटा इटाली र तीनवटा नेपालबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।
यसैबिच, हेरिटेज इन्टरनेसनल इन्स्टिच्युटले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको निकट भविष्यमा पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न आधिकारिक नामांकन ब्राेसियर तयार गर्न सक्रिय रूपमा सहयोग गर्ने जनाएको छ । पनौतीको असाधारण सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई आगामी सेप्टेम्बरमा काम अगाडि बढाउन थप मिसन सञ्चालन गर्ने योजना घोषणा गरेको छ ।