
जापानमा २९ वर्ष सेवा गरेका एक बसचालकले यात्रुको भाडाबाट सात हजार डलर चोरेको आरोपमा बर्खास्त भएपछि ८४ हजार अमेरिकी डलरबराबरको अवकाश प्याकेज गुमाएका छन् । क्योटो सिटीले सन् २०२२ मा एक हजार येन (सात अमेरिकी डलर) ठगी (चोरी) गरेको बसको सुरक्षा क्यामेरामा देखिएको रेकर्डको आधारमा नाम नखुलाइएका ती व्यक्तिलाई बर्खास्त गरेको थियो ।
चोरीको अभियोगमा एक करोड २० लाख येन (८४ हजार अमेरिकी डलर) भन्दा बढीको अवकाश रकम दिन चालक कार्यरत कार्यालयले अस्वीकार गरेपछि चालकले स्थानीय अदालतमा मुद्दा दायर गरेका थिए जसमा अदालतले सजाय अत्यधिक भएको फैसला सुनाएको थियो। स्थानीय अदालतको फैसला उनको पक्षमा आए पनि यस मुद्दामाथि भएको पुनरावेदनपछि सर्वोच्च अदालतले यसलाई उल्टाएको छ । चालकले मुद्दा हारेका छन् ।
नगर कार्यालयको पक्षमा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएपछि नगर कार्यालयको सजाय पुनः कायम भएको छ । उक्त व्यक्तिको आचरणले प्रणाली र बससेवाको प्रभावकारी सञ्चालनप्रतिको जनविश्वासलाई कमजोर पार्न सक्ने फैसला सर्वोच्च अदालतले सुनाएको हो । घटनामा पाँचजना यात्रुको एक समूह बसमा पसेर उनलाई एक हजार १५० येन तिरेको फैसलामा उल्लेख छ ।
चालकले समूहलाई १५० येन मूल्यको भाडा संकलनका लागि सिक्का बाकसमा खसाल्न निर्देशन दिएको र एक हजार येनको बिल हातमा लिएका थिए । क्यामेरामा कैद भए तापनि उनले आफ्नो वरिष्ठ अधिकारीले गरेको सोधपुछका क्रममा उनीमाथि लागेको सात डलर चोरीको आरोप अस्वीकार गर्ने प्रयास गरे अर्थात् घटनालाई सही तरिकाले रिपोर्ट गर्न नसकेको देखिन्छ ।