
चीनको व्यापारिक सहरबाट खासा हुँदै सीमानाका पास भएका झन्डै सात सय विद्युतीय सवारीसाधन जाँचपासको पर्खाइमा तातोपानी भन्सार कार्यालय यार्डमा थुप्रिएका छन् । ओमोडा, डिपाल, लिपमोटर, जेक्रा, एमजी, फोटोन र डिएफएसके ब्रान्डका चिनियाँ विद्युतीय गाडी तातोपानी भन्सार आइपुगेका छन् ।
तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले दिएको जानकारीअनुसार चिनियाँ सहरबाट तातोपानी भन्सारमा आयात भएका सात सयभन्दा बढी विद्युतीय गाडी जाँचपासका लागि भन्सार यार्डमा रहेको र वैशाखभित्र राजधानी काठमाडौं पुग्नेछन् । यो आर्थिक वर्षमा तातोपानी नाका भएर चैत मसान्तसम्म २७ सय २४ वटा गाडी राजधानी प्रवेश गरिसकेका छन् ।
काफ्लेका अनुसार सात अर्ब पाँच करोड ८५ लाख मूल्यबराबरको विद्युतीय गाडी आयात भएका छन् । जसबाट तीन अर्ब ७५ करोड ६३ लाख राजस्व संकलन भएको छ । ‘यो वर्ष धेरै विद्युतीय सवारी आयात भएको र जसबाट राज्यलाई फाइदा पुगेको छ,’ काफ्लेले भने ।
ठुलो विद्युतीय बस एक, १५ देखि २५ सिट भएका मिनीबस २४८, ११ देखि १४ सिट भएका माइक्रो बस २८०, ५० किलोवाटका कार, जिप र भ्यान ३७०, एक सय किलोवाटका एक हजार ५४४, दुई सय किलोवाटका २२९, तीन सय किलोवाटसम्मका दुई, तीन सय किलोवाटभन्दा माथिका एक र फोर ह्विलर विद्युतीय कार जम्मा ४९ वटा विद्युतीय सवारीसाधन पैठारी भएको उनले जानकारी दिए ।