
आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइनेछ ।
सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । बालबालिकालाई बालभिटा खुवाइनेछ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिनेछ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि ०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो ।
जुका नियन्त्रण तथा रोकथामका लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । यस्तै, २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ । प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।