
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा बिचौलियाको चलखेल बन्द गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । बिहीबार रुपन्देही पुगेका प्रचण्डले पत्रकार सम्मेलनमा भने, ‘खबरदार ! गभर्नरजस्तो पद जो देशको अर्थतन्त्रलाई नियमन गर्ने, नियमित र सन्तुलित बनाउने महत्त्वपूर्ण संवेदनशील ठाउँ हो त्यहाँ बिचौलियाको चलखेल बन्द गर भनेका छौँ ।’
उनले परिणाम निकाल्न सक्ने योग्य व्यक्तिलाई पदीय जिम्मेवारी दिनुपर्नेमा जोड दिए । उनले आफ्नो पालामा कुलमानजस्तो योग्य कर्मचारी नियुक्ति गरेकाले लोडसेडिङको अन्त्य भएको भन्दै यस्तै गरी अर्थतन्त्रको समस्या समाधान गर्न पनि त्यस्तै योग्य कर्मचारी हुनुपर्ने उल्लेख गरे ।
अहिले बिचौलियाहरू प्रधानमन्त्रीको बेडरुमसम्म पुग्छन् भन्ने कुरा आफ्नो मात्र नभएर सत्ता घटक नेपाली कांग्रेसका जिम्मेवार नेताहरूले समेत भनिरहेकाले यी र यस्ता कुराहरू छर्लंग भएको बताए ।