
भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको प्रशिक्षण, योजना तथा अनुगमन विभागको उपनिर्देशकको जिम्मेवारी पाएका छन् ।
परिषद्को सदस्यसचिवस्तरीय निर्णयअनुसार भट्टलाई विभागको उपनिर्देशकको जिम्मेवारी दिइएको हो । राखेपका सदस्यसचिव टंकलाल घिसिङले बुधबार भट्टलाई पत्र प्रदान गरेका छन् ।
भट्टले प्राप्त जिम्मेवारी इमानदारीका साथ निभाउने बताए । तीन दशकदेखि भलिबलमा सक्रिय भट्टले आफ्नो अनुभव, ज्ञान र सीपलाई पूर्ण इमानदारीका साथ राष्ट्रको खेल क्षेत्रमा योगदान गर्ने बताएका छन् ।
‘भलिबलमा अहिलेसम्म प्राप्त अनुभव र ज्ञानलाई राष्ट्रको खेल क्षेत्रमा प्रयोग गर्नेछु,’ उनले भने, ‘राखेपले ममाथि विश्वास गरेको छ, यसका लागि धन्यवाद दिन चाहन्छु ।’