
एमाले नगर कमिटी जितपुरसिमरा उपमहानगरपालिकाको दोस्रो अधिवेशनबाट पदाधिकारीमा त्रिलोकिवक्रम शाहको प्यानल नै विजयी भएको छ। सार्वजनिक भएको नतिजाअनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पदमा शाह पक्षका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा शाहले २०७ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी तारा (हिरा) बस्नेतले १०६ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ।
उपाध्यक्षमा कैमुदिन अन्सारीले १८६ मत प्राप्त गरेका छन् भने सचिवमा रवीन्द्र भण्डारी १६५ मतसहित विजयी भए। यसैगरी, उपसचिवमा विष्णुप्रसाद सापकोटाले १९५ र महिला उपसचिव अलौपिया चौधरी १८२ मतसहित विजयी भए।
२८ चैतमा सुरु भएको अधिवेशनले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि अध्यक्षका दुई आकांक्षी त्रिलोकविक्रम शाह र तारा (हिरा) बस्नेतले प्यानलै बनाएर चुनाव लडेका थिए। कुल मत संख्या ३४८ रहेको नगर कमिटी जितपुरसिमरा उपमहानगरपालिकामा ३२६ मतदान गरेका थिए।