
प्रधानमन्त्री केपी ओलीले कृत्रिम बौद्धिकता (एआई)को सदुपयोग गर्दै उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७४औँ वार्षिक साधारणसाभालाई सम्बोधन गर्दै उनले प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मक उद्योग व्यवसाय गर्नुपर्नेमा जोड दिएका हुन् ।देशमा राजनीतिक स्थिरता आइसकेको औँल्याउँदै प्रधानमन्त्री ओलीले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरे । ‘कसैलाई गालीगलौज, बदनाम र भ्रम सिर्जना गर्न सूचना र प्रविधिको प्रयोग गर्नुहुँदैन,’ उनले भने, ‘मानिसलाई सहज रूपमा सेवा–सुविधा दिनका लागि सूचना प्रविधिको प्रयोग गरिनुपर्छ ।’
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने कुरामा कुनै कमी नहुने स्पष्ट पारे । ‘देशमा उद्योग व्यवसाय फस्टाउने सवालमा हामी सधँै पवित्र र निकट सम्बन्ध राखेर सहकार्य गर्नेछौँ’ उनले भने, ‘यो निकट सम्बन्ध कुनै कमिसनका लागि अवश्य होइन, देश बनाउने सवालमा हो ।’ उनले सुशासन र विकासका सवालमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारे । ‘स्थिरता ल्याउन ठुला पार्टीहरू मिलेर सरकार बनेको छ, आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो सिलसिला कायम रहन्छ, तपाईंहरू ढुक्क भएर लगानी गर्नुस्, देशको विकासका योगदान गर्नुस्,’ उनले भने ।
चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले रेमिट्यान्सबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्नुपर्ने बताए । रेमिट्यान्सको करिब ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भइरहेको सन्दर्भमा अर्थतन्त्रको विस्तारमा योगदान गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । स्थानीय उत्पादनको प्रवद्र्धन एवं निर्यात वृद्धि गरी आयात व्यवस्थापन गर्न अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र स्थापना गर्न आवश्यक रहेको उनले बताए ।
‘देशलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अपरिहार्य छ, आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनका लागि पनि आन्तरिक उत्पादन बढाउनु अनिवार्य छ,’ उनले भने, ‘तुलनात्मक लाभ भएका कृषि, जलस्रोत, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भिœयाउन आवश्यक छ ।’ उनले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना बनाइनुपर्नेमा पनि जोड दिए ।