
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता सुरु गर्न गइरहेको बताएका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यो आश्चर्यजनक घोषणा गरेका हुन्।
सोमबार ओभल अफिसमा बोल्दै ट्रम्पले तेहरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको, तर वार्ता असफल भएमा इरान ‘ठुलो खतरामा’ पर्ने चेतावनी दिए । तेहरानले ओमानमा शनिबारका लागि छलफल तय भएको पुष्टि गरेको छ, तर ती ‘अप्रत्यक्ष’ वार्ताहरू थिए भनी जोड दिएको छ।
इरानी समाचार एजेन्सी तस्निमका अनुसार विदेशमन्त्री अब्बास अराघची र मध्यपूर्वका लागि शीर्ष अमेरिकी दूत स्टिभ विटकफले वार्तामा भाग लिनेछन्। ‘यो जति एउटा परीक्षा हो त्यति नै एउटा अवसर पनि हो,’ अराघचीले एक्समा लेखेका छन्, ‘बल अमेरिकाको कोर्टमा छ।’
यसैबिच, नेतन्याहुले संयुक्त राज्य अमेरिका र इजरायलले युद्धग्रस्त गाजाबाट बन्धकहरू मुक्त गर्ने अर्को सम्झौतामा काम गरिरहेको बताएका छन्। गाजामा इजरायल र इरानको सहयोगी हमाससँगको शान्ति सम्झौता भंग भएको छ। ‘हामी इरानीहरूसँग व्यवहार गर्दै छौँ, हामीले शनिबार एउटा ठुलो बैठक गरेका छौँ र हामी उनीहरूसँग प्रत्यक्ष व्यवहार गर्दै छौँ,’ अमेरिकी भन्सार महसुलबाट इजरायललाई बचाउने प्रयासमा केन्द्रित हुने भनिएको बैठकपछि ट्रम्पले पत्रकारहरूलाई भने।
ट्रम्पले वार्ता कहाँ हुने बताएनन्, तर यसमा प्रतिनिधिहरू समावेश नहुने र ‘लगभग उच्चतम स्तर’मा हुने कुरामा जोड दिए। इरानले देशको आणविक कार्यक्रमलाई रोक्नका लागि नयाँ सम्झौतामा प्रत्यक्ष वार्तालाई अस्वीकार गरेपछि ट्रम्पको आश्चर्यजनक घोषणा आएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१८ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा अघिल्लो सम्झौताबाट हात झिकेका थिए र कुनै नयाँ सम्झौता हुन नसकेमा सम्भवतः अमेरिकी सहयोगमा इजरायलले इरानी पूर्वाधारहरूमा आक्रमण गर्न सक्ने व्यापक अनुमान छ।
तर, ट्रम्पले तेहरानलाई कडा चेतावनी दिएका छन्। ‘यदि इरानसँगको वार्ता सफल भएन भने मलाई लाग्छ कि इरान ठुलो खतरामा पर्नेछ र म यो भन्न घृणा गर्छु, ठुलो खतरा, किनकि उनीहरूसँग आणविक हतियार हुन सक्दैन,’ उनले भने।
यसैबिच, अधिकारीहरूले रुस, चीन र इरान मंगलबार मस्कोमा इरानी आणविक मुद्दामा परामर्श गर्न तयार रहेको बताएका छन्। नेतन्याहु व्यक्तिगत रूपमा विश्वलाई हल्लाउने अमेरिकी करबाट मुक्तिका लागि अनुरोध गर्ने पहिलो विदेशी नेता बनेपछि ट्रम्पको यस्तो खुलासा भएको हो। इजरायली प्रधानमन्त्रीले दुई देशबिचको व्यापार घाटा हटाउने र व्यापारका ‘अवरोधहरू’ पनि कम गर्ने प्रतिज्ञा गरे। उनको देशले बैठकअघि अमेरिकी आयातमा आफ्नो अन्तिम बाँकी भन्सार शुल्क हटाउन कदम चालेको थियो।