
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेशको मात्र नभई राष्ट्रकै समस्या भएको र यसको समाधान माओवादीले मात्रै गर्न सक्ने बताएका छन्।
जनतासँग माओवादी, तराई मधेश जागरण अभियानको क्रममा सिराहाको सिराहा नगरपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो धारणा राखेका हुन्। मधेशका मसिहा ठान्ने दलहरूले मधेशी जनतामाथि नै घात गरिरहेकाले अब उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने वेला आएको उनले स्पष्ट पारे।
महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, थारू आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको स्मरण गराउँदै प्रचण्डले अब मधेशले माओवादीलाई फेरि विश्वास गर्ने वेला आएको बताए।
मधेशी जनता वास्तविक देशभक्त र सीमारक्षकको रूपमा रहेको उल्लेख गर्दै उनले उनीहरूको सम्मान गर्नुको साटो अरू देशका नागरिकसरह व्यवहार गर्नु विभेद र अपमान भएकाले यसलाई प्रभावकारी कार्यक्रममार्फत नै अन्त्य गर्न सकिने र त्यसको नेतृत्व माओवादीले मात्रै गर्न सक्ने दाबी गरे।
अध्यक्ष प्रचण्डले माओवादीले जनयुद्धकै क्रममा मधेशी जनताको आत्मनिर्णयको अधिकारलाई स्थापित गर्न मधेश सरकार गठन गरिएको र पार्टीभित्र पहिलोपटक मधेशी राष्ट्रिय मुक्ति मोर्चा गठन गरिएको स्मरण गराए। झन्डै एक हजार तीन सय मधेशी जनताका छोराछोरीले माओवादी जनयुद्धमा बलिदान गरेको स्मरण गर्दै प्रचण्डले जनयुद्ध सुरु गर्दा पहिलोपटक हतियारको तालिम पनि मधेशबाटै सुरु गरेको बताए।
२०६४ सम्म आउँदा मधेश माओवादीमय भएको, तर पार्टी एकता बचाउन नसक्दा र गौर हत्याकाण्डजस्ता विभिन्न षड्यन्त्रका कारण मधेशी जनतामा माओवादीप्रति भ्रम पर्न गएको र सोही भ्रम हटाउन तराई मधेश जागरण अभियान लिएर आएको उनले स्पष्ट पारे।